१९ माघ २०७७, सोमवार

मन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका-७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गरेका छन्।

सोमबार ढल्केबरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसनको उद्घाटन गरेका हुन्।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साहलगायतको उपस्थिति थियो।

मुलुकभित्र पूर्व-पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ।

नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब २० करोड रूपैयाँ लगानीमा निर्माण भएको ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो।

४००र२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्।

यसै गरी, २२०र१३२ केभी सबस्टेसनमा रहेका तीनवटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको छ।

सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केबर-मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत् दुई मुलुकबीच करिब एक हजार मेगावाटसम्म विद्युत आदान-प्रदान गर्न सकिनेछ।

हेटौडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब दुई/दुई सय मेगावाट विद्युत् ढल्केबर सबस्टेसनबाट हेटौडा र इनरुवातर्फ पठाउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर