काठमाडौं, १९ माघ । नेपाली सेनाले सोमबार राति राजधानीको चक्रपथमा युद्ध र अन्य संकटका बेला प्रयोग गरिने ‘बख्तरबन्द’ गाडीहरूको प्रयोगसम्बन्धी अभ्यास गर्ने जनाएको छ ।
नियमित अभ्यास योजनाअनुसार बेलुकी १० बजेपछि चक्रपथ चक्कर लगाइने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
अभ्यासमा मुलुकका आठवटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरू सहभागी हुने पौडेलले जानकारी दिएका छन् । सेनाले यो बेला बेला गर्दै आएको तालिमको नियमित प्रक्रियाअन्तर्गतको अभ्यासको रुपमा यसलाई अर्थ्याएको छ ।
अन्यत्र पर्याप्त ठाउँ नभएकाले चक्रपथलाई अभ्यासका लागि छनोट गर्नुपरेको सेनाले स्पष्ट पारेको छ ।









