नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।
अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग साँठगाठ गरेर प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।
उनले देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको इशारामा ठुलो डिजाइन अन्र्तगत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धीमाथि प्रहार गरिएको पनि बताए ।
अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको औँल्याए ।
त्यसैगरी बैठकलाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफुतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताए ।