
१८ माघ २०७७, आइतवार
कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन् ।
यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले खोप साक्षरतासम्बन्धी निर्देशिका जारी गरेको छ ।
आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ ।
सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्डलगायतका विषय समेटिएका छन् ।