
१६ माघ २०७७, शुक्रवार
गुल्मी,इस्मा गाउँपालिका ३ दर्लामचौरका ६४ बर्षीय राम बहादुर मुखियाको डामेर हत्या भएको निष्कर्ष इन्सेकले निकालेको छ । निष्कर्षसहितको प्रतिवेदन इन्सेक गुल्मीले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई बुझाएको छ ।
गत पुस २८ गते रेसुंगा नगरपालिका १ को उदिनढुंगामा बिमार सञ्चो गराउने बहानामा विभिन्न धातुहरुलाई आगोमा तताएर डामेपछि राम बहादुर र उनका छोरा ३४ बर्षीय हुम बहादुर मुखिया, २७ बर्षीय कृष्ण मुखिया र रेसुंगा नगरपालिका ५ की ४० बर्षीया टोपला दमाई घाइते भएका थिए ।
उपचारको क्रममा रामबहादुरको मृत्यु भएको थियो भने अन्य घाइतेको हालसम्म पनि उपचार भइरहेको छ ।
सोहि बिषयमा इन्सेक जिल्ला प्रतिनिधी टोपलाल अर्याल, नागरिक समाजका संयोजक पदम प्रसाद पाण्डेय, अधिवक्ता हिरा कुवंर, दलित अधिकारर्मी कमला बराल र नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीसहितको अनुगम टोलीले प्रतिवेदन तयार पारेको थियो ।