१३ माघ २०७७, मंगलवार

अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन्।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा प्रेस संगठन नेपालले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

कतिपयलाई अझै पनि संसद पुनर्स्थापना हुन्छ कि भन्ने भ्रम रहेको भन्दै अर्थमन्त्री पौडेलले संविधान बमोजिम नै संसद विघटन भएकाले पुनर्स्थापना नहुने दाबी गरे। ‘मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेको छ, सबै दलहरू अब कुनै भ्रम नपाली निर्वाचनमा जानुको विकल्प छैन’,उनले भने।

यद्यपि संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेकाले अदालतले गर्ने फैसलालाई भने सम्मान गर्ने उनले बताए।

उनले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै नेकपाका महासचिव समेत रहेका पौडेलले निर्वाचनबाट आफ्नो दल नै जनताबाट अनुमोदित हुने विश्वास व्यक्त गरे।

‘वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ, यसका लागि कसैले भ्रम पाल्नु जरूरी छैन’,उनले भने।

अर्थमन्त्री पौडेलले निर्वाचनको तयारी गर्न अदालतको फैसला कुर्न नपर्ने उल्लेख गर्दै लोकतन्त्रका विश्वास गर्नेले निर्वाचनको विरोध नगर्ने बताए।

उनले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लिएर चुनावमा जाने भन्दै जनताले सरकारले गरेका कामको सही मूल्यांकन गर्ने समेत बताए।

अर्थमन्त्री पौडेलले प्रतिनिसध सभा पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलनमा जानुको कुनै औचित्य नरहेको बताए।

‘सरकारले प्रतिनिधि सभा विघटन गरिसकेपछि यो सर्वोच्चमा पुगिसकेको छ, त्यसैले अब यो सरकारको क्षेत्राधिकारभित्र पर्दैन, तसर्थ पुनर्स्थापनाको माग कोसँग हो ?’ उनले प्रश्न गरे।

उनले सरकारको क्षेत्राधिकारभित्र नपर्ने विषयमा र अदालतको विरूद्धमा आन्दोलन गर्ने कुरा गलत रहेको बताए।

उनले निर्वाचन आयोगले चुनावको तयारी अगाडि बढाएको र सुरक्षा निकायले पनि तयारी थालेको भन्दै अब निर्वाचन रोक्ने तागत कसैसँग नरहेको बताए।

अर्थमन्त्री पौडेलले कोभिड-१९ विरूद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन लागिएको पनि जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर