१३ माघ २०७७, मंगलवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन् ।
उनले भने, ‘आयोगको निर्णयले पनि पार्टी फुट्नुहुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।
’ उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन् सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए ।
उनले तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रलाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरे ।
‘त्यतिबेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाई नेकपा बनाएको थिएँ,’ उनले भने, ‘अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु ।’
उनले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने बताए ।
नेता गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि यही माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन् ।
एकता अभियानका संयोजकमा गौतम, सहसंयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा रहेका छन् ।
एकता अभियानसँगै नेता गौतमले लेखेको ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१औँ शताब्दीको कम्युनिस्ट पार्टी’, ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ नामक तीन पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ ।
अभियान घोषणाको दिन ५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिनेछ ।
उनले आफ्नो दुवै पक्षका ठूला नेताको साथ आफूलाई नभए पनि साना नेता भने साथ रहेको स्पष्ट पारे ।
उपाध्यक्ष गौतमले नेकपाको अन्तरिम विधानमा पनि सहमतिमै पार्टी चल्ने भएकाले कसैको इच्छा लाग्दैमा पार्टी फुटाउन नपाइने बताए ।
दुवै अध्यक्ष सहमत भए मात्र पार्टी फुट्ने उनको भनाइ छ ।
उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो समूहमा आउन बोलाइरहेको बताए ।
उनले आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने बताए ।
‘मैले कुनै समूहमा जानका लागि अभियान चलाएको होइन,’ उनले भने, ‘जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।’
उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको बताए ।
‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्,’ उनले भने ।
–राससको सहयोगमा









