तनहुँको ऋषिङ गाउँपालिकामा खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
‘एक पालिकाः एक खेल मैदान’ कार्यक्रमबमोजिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गाउँपालिकाको झापुटारमा खेल
मैदान निर्माणका लागि बजेट विनियोजन गरेको हो ।
ऋषिङ–१ झापुटारस्थित खेलमैदानका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा
योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।
प्रदेश सरकारले विनियोजन गरेको बजेट स्थानीय तहमा पठाइने र उक्त कामको कार्यान्वयन स्थानीय तहले गर्ने मन्त्री गुरुङले बताए ।
खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेकाले सबै पालिकामा खेल मैदान र रंगशाला निर्माण गर्ने सरकारको लक्ष्य रहेको
गुरुङले बताए ।
प्रदेश सरकारले ऋषिङ–६ चालिसेस्थित खेल मैदानका लागि पनि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । खेलाडी, खेल प्रशिक्षक, महिला, बालबालिका, युवाको खेलकुदको मध्यमबाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका लागि गाउँपालिकामा खेल मैदान र नगरपालिकामा रंगशाला निर्माण गरी खेलकुद विकासका पूर्वाधार तयार गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।
खेल मैदान निर्माणका लागि सम्बन्धित स्थानीय तहले साझेदारी गर्नुपर्नेछ । खेलमैदान निर्माणका लागि आवश्यक डिजाइन, लागत अनुमानसहितको स्वीकृत अनुमानित लागत र विस्तृत परियोजना प्रतिवेदन प्रदेश सरकारसमक्ष बुझाउनुपर्ने प्रावधान छ । रासस









