
१२ माघ २०७७, सोमवार
प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती नदीमा निर्माण गरिएको नेपालकै दोस्रो लामो पुल उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घघाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका थिए।
प्रधानमन्त्री हेलिकप्टरबाट त्यहा पुग्दा उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीले राप्ती नदीमा निर्मित पुलको अवलोकनसमेत गरेका छन्।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो।
पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।
करीब रु एक अर्ब लागतको सो पुल चार वर्ष भित्र बनाइसक्ने सम्झौता भएको थियो।
पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनिया–महदेवा वारिपारि गर्न सहज भएको छ ।
अहिले गढवा गाउँपालिका अन्तर्गत पर्ने राप्ती पारिको क्षेत्रबाट आउदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको सवारी साधनबाट यात्रा गर्नुपर्ने अवस्था छ ।
पुल निर्माण सँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ।
बर्दियाको गेरुवा नदीमा पुल बनाएकै कम्पनी द एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो।
पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् ।