१२ माघ २०७७, सोमवार

सदरमुकाम मार्तडीमा ६ महिनापछि यातायात सेवा सुरु भएको छ ।

साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको करिब ६ महिनापछि सदरमुकाम मार्तडीमा यातायात पुगेका हुन् ।

साँफे–मार्तडी सडक खण्ड अन्तर्गत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको भत्केको सडकमा बस सेवा सुरु हुने गरी सडक विभागले सडक निर्माण गरेको छ ।

गत साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले जडाङ्गामा रहेको बेलिब्रिज बगाएपछि मार्तडी सम्मको बस सेवा करिब ६ महिनासम्म बन्द भएको थियो ।

जडाङ्गामा बनाइएको अस्थायी काठे पुलमा जोखिम मोलेर बसहरू मार्तडी पुर्‍याइएको हो ।

बल्देदवारी सडकको स्तरोन्नति र जडाङ्गा नदीमा बन्ने बेलिव्रिज छिटो निर्माण गर्न सकेमा मार्तडीसम्म नियमित बस सेवा सुरु गर्न सकिने यातायात व्यवसायीको भनाइ छ ।

यसअघि धनगढीसम्म जान ३ वटा गाडी फेरेर मात्रै जानुपर्ने बाध्यता थियो ।

अब त्यसको अन्त्य भएको स्थानीय थानीय टेक बडुवालले बताए ।

अब सिधै मार्तडीबाट बसमा धनगढी, महेन्द्रनगर, काठमाडौं र नेपालगन्ज जान पाइने भएको छ ।

बडिमालिका नगरपालिकाको लगानीमा साँफे–मार्तडी सडकखण्ड अन्तर्गत जडाङ्गमा नदीमा गाडी गुड्ने काठेपुल निर्माण गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए ।

‘बेलीब्रिज पुल निर्माण हुँदै छ । निर्माणमा समय लाग्ने भएपछि नगरपालिकाले जिप, ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधन गुडाउन मिल्ने गरी काठेपुल निर्माण गरेको हो’, उनले भने ।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बाजुरा बासीका लागि सदरमुकाम मार्तडीबाटै नियमित बस सेवा सञ्चालनका लागि सम्बन्धित निकायसँग पहल गरिरहेको बताए ।

गत साउन २५ गतेको बाढीका कारण जडाङ्गामा रहेको बेलिब्रिज बगाएको करिब साढे ४ महिनापछि उक्त ठाउँमा नयाँ बेलिब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालयले १ करोड ८८ लाखको ठेक्का खोलेर बेलिवृज निर्माणको काम भइरहेको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ ।

बेलिब्रिज निर्माण गर्ने जिम्मा जुनएम एसएमके बिल्डरर्स एन्ड कन्सट्रक्सन कम्पनी, धनगढी कैलालीले पाएको थियो ।

अहिले निर्माण कम्पनीले सामान ढुवानी गरेर बेलिब्रिज निर्माण कार्यको थालनी गरिसकेको सडक डिभिजन साँफेबगरका प्रमुख ललित खनालले बताए ।

साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले बेलिब्रिज बगाएको थियो । नदीमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्क विच्छेद भएको थियो ।

२३ वर्षपछि सदरमुकाम मार्तडीसम्म पक्की बनेको सडक वर्षातमा सडक माथि र तलबाट खसेको पहिरोका कारण तहसनहस भई बिग्रेको छ ।

जसका कारण वर्षातमा करिब ३ देखि ४ महिनासम्म सदरमुकाम मार्तडी सम्मको सडकमा नियमित बस सेवा जहिल्यै अवरुद्ध हुने गरेको छ ।

बाढीकै कारण जडाङ्गाको बेलिब्रिजसँगै झोलङ्गे पुल र खेतियोग्य जमिन समेत बगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार