८ माघ २०७७, बिहिवार
प्रधानमन्त्री केपी ओलीले दाहालमाथि आरोप र व्यंग्यको वर्षा गर्नुभएको छ ।
प्रेस संगठन नेपालको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले पुष्कमल दाहालले आफ्नो परिवारबाहेक अरु केही नसोच्ने टिप्पणी गर्नुभयो ।
अरूका छोराछोरी त काठका हुन् ? पसलमा बेच्न राखेका पुतली हुन् ? भन्ने कटाक्ष दाहाललाई गर्दै ओलीले भन्नुभयो, ‘केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोरीहरू छन् ‘., छोरीलाई जिताउन मत पत्र च्यात्नै प¥यो । ज्वाइँ छन्, घर किन्दिनै पर्यो । बाउ होस् त्यस्तो, ससुरा होस् त्यस्तो ।’
देशलाई सुशासनको बाटोमा लैजान भ्रष्टाचार नियन्त्रण जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो गन्तव्य स्पष्ट रहेको र कसैलाई नछाड्ने चेतावनी पनि दिनुभयो ।
आफूबाहेक अरुले देशभक्तिको नक्कली कुरा गरेको भन्दै भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तर्वार्तालाई लिएर राष्ट्रवादको बबण्डर मच्चाएको आरोप लगाउनुभयो ।
राष्ट्रियता र देशभक्ति बिकाउ वस्तु नभएको भन्दै उहाँले भन्नुभयो, ‘मैले अस्ती एउटा विदेशी टेलिभिजनलाई अन्तर्वार्ता दिएँ, त्यो पत्रकारले आफ्नो देशमा गएर सगरमाथा नाप्नेको नामबाट माउन्ट एभरेस्टको नाम राख्नुपर्छ भनेछ ।
यता आलोचना गर्न केही भेटाएनछन्, यहाँ राष्ट्रवादको बबण्डर मच्चियो । यति बहकिनुपर्ने थियो ? राष्ट्रवाद भनेको तमासा गर्ने कुरा हो ?’
आफ्नो अन्तर्वार्तालाई नौटंकी भनेको भन्दै क्रूद्ध देखिनुभएका ओलीले प्रश्न गर्नुभयो, ‘उहाँहरूले पनि कहिले–कहिले विदेशीलाई अन्तर्वार्ता दिँदा देशको इज्जत राख्नुभएको छ ? नक्कली कुरा गर्नु देशभक्ति होइन ।’
दाहाल–नेपाल समूहमा लागेका भीम रावलले आफूलाई महिलाको किड्नी राखेकाले दिमागले काम गरेन भनेको आक्षेप दाहोर्याउँदै ओलीले रावलको विद्यावारिधीमाथि नै प्रश्न गर्दै भन्नुभयो, ‘के विषयको डाक्टर हो, बुद्धिचाहिँ कहाँ छ ?’