७ माघ २०७७, बुधवार

वाग्मती प्रदेशसभाको बैठक आज बस्दैछ ।

मंगलबर बसेको कार्य परार्मश समितिको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा छलफलमा ल्याउने कार्यविधि तयार पार्न नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा प्रदेशसभाका सदस्यहरु गणेशप्रसाद दुलाल, राजेन्द्रप्रसाद पाण्डे, बुद्धिमान माझी, शोभा शाक्य, रीना गुरुङ, छिरिङदोर्जे लामा, रीता माझी र पुकार महर्जन रहनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको आजको बैठकमा विभिन्न दलको तर्फबाट प्रदेशसभाका सदस्यले शुभकामना मन्तव्य प्रस्तुत गर्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

त्यसपछि क्रमशः अविश्वास प्रस्तावबारे छलफल हुनेछ ।

अविश्वास प्रस्ताव पारित भएको खण्डमा पौडेल मुख्यमन्त्रीबाट हट्नेछन् भने नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

नेकपा विभाजित भएपछि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको हो ।

प्रदेशसभामा अहिले नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, नेपाल मजदूर किसान पार्टीको दुई, राप्रपाको दुई र एक स्वतन्त्र गरी ११० सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर