३ माघ २०७७, शनिवार

संघीय संसदको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन घोषणा गरेपछि कांग्रेस देशव्यापी प्रदर्शनमा छ ।

कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्दैछ ।

कांग्रेसले देशभर संघीय संसदका निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय विरोध सभा गरिसकेको छ ।

आजको विरोध प्रदर्शनमा सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले हिजै अपिल गरेका थिए ।

पार्टीको सबै तहका नेता कार्यकर्ताहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर