
२४ पौष २०७७, शुक्रवार
संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपाको (प्रचण्ड–माधव) पक्षले शुक्रबार देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउँदैछ ।
केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलका अनुसार संसद भंग गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै पुर्व घोषित कार्यक्रमअनुसार सवै जिल्लामार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो ।
विरोधपत्रका साथमा प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिने र राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरिनेछ ।
यसैबीच काठमाडौका प्रमुख जिल्लाअधिकारीलाई विरोधपत्र बुझाउनुअघि बबरमहलमा नेकपाका नेता कार्यकर्ता भेला भएर जुलुससहित काठमाडौँ जिल्ला प्रशासन कार्यलय जाने भएका छन् ।
नेकपा काठमाडौका नेता हिमाल शर्माका अनुसार १२ बजे बबरमहलमा जम्मा भएर र्यालीसहित जिल्ला प्रशासन कार्यालय जाने तयारी भइहरेको छ ।
गत पुस ५ गते सरकारले प्रतिनिधि सभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ ।
सरकारको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सबै राजनीतक दल तथा नागरिक समाजका अगुवाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले संसद पुन सञ्चालन नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएका छन् ।