
१४ पौष २०७७, मंगलवार
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ ।
स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।
उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ । मन्दिरको तल्लो क्षेत्रदेखि सल्किएको डढेलो मन्दिर नजिक पुगेपछि मन्दिरमा टाँगिएको ध्वाजापताका, आगो चाडो टिप्ने सामग्री ,डोरी हाटाएसंगै मन्दिर जोगिएको हो
अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् ।
आगलागी क्षेत्र रेडपाण्डाको मुख्य बास्थान हो । गुराँस साथै विभिन्न प्रजातिको बोटविरुवा,बहुमुल्य जडिबुटी समेत आगलागिले नष्ट भएको छ । बिहीबारबाट फुङ्लिङ नगरपालिका वडा नं ११ को फावाखोला स्थित सिम्बु सामुदायिक वन क्षेत्रमा सुरु भएको डढेलो के कारणले लागेको भन्ने खुलेको छैन । यता आगलागिबाट झण्डै चार सय मिटर पाईप जल्दा माथिल्लो फेदिका स्थानीयबासी भने पानीको समस्यामा परेका छन् ।
यसैबीच सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रण गरिएको यो पहिलो पटक हो । ‘हामीसँग तालिमप्राप्त जनशक्ति थिए, विशेष प्रविधिको बकेट राखेर पानी निकाल्ने र खसाल्ने तालिम बर्षेनी भइरहेको हुन्छ, पहिलो पटक हामीले आगो निभाउन उक्त प्रविधि र जनशक्तिलाई प्रयोगमा ल्याएका हौं’, उनले भने । यसरी आगो निभाउन प्रविधिसहित जनशक्ति सिम्रिक एयरसँग मात्रै रहेको पनि उनले बताए । आगो कसले लगायो भन्ने खुलेको छैन ।