
१२ पौष २०७७, आइतवार
प्रचण्ड-माधव नेपाल समूहले १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने योजना वनाएको छ ।जसको लागि
टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर,नक्शाल ,प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र नेताहरुले सम्बोधन गर्ने युवा संघ संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए । १४ गतेको प्रदर्शनलाई लक्षित गरेर आइतबार विद्यार्थीहरुको बैठक बस्न लागेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
कार्की ब्यांक्वेटमा दुई दिनसम्म बसेको नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार आज पुस १२ गते ७७ जिल्लाहरूको भेला तथा बैठक हुँदैछ । १४ गते ७७ वटै जिल्लामा आन्दोलन गर्ने, २० गतेभित्र नगर/गाउँपालिकासम्म बैठक, भेला गर्ने र २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने निर्णय सो समूहले गरेको छ ।