गौरव पाण्डेय
५ पौष २०७७, आइतवार
तिमी मार्क्सवाद पढ्दै गर्दा उसको पनि बेला उही थियो
रहर, उमेर र जोस उही थियो
सायद भोगाइ र नियति पनि उही थियो
आखिर व्यथा उही थियो
तिमी र उसमा एउटै भिन्नता थियो
तिमी विद्रोहको लालझण्डा लिएर उठ्यौ उ कुटी, कोदालो र हलो लिएर उठ्यो
तिमीले मार्क्स, लेलिन र माओ जिन्दावाद भन्यौ उसले जल, जमिन र जाँगर जिन्दावाद भन्यो
तिमीले साम्यवाद पढ्यौ र भन्यौ जमिन साझा हुनुपर्छ, उसले रोग, शोक र भोक पढ्यो र भन्यो जमिन जस्को होस् मलाई मेरो पसिनाको मूल्य भए पुग्छ
उ हिजो पनि यही भन्थ्यो आज पनि यही भनिरहेछ
हिजो तिमी र उ अडिने धरातल उही थियो
तर नियतको खेल ! तिमी विद्रोहीबाट सत्ताधारी भयौ
आज तिम्रो साथी सडकमा छ
कति शालीन ऊ
उसले धर्म छोडेन, धरातल भुलेन
अगाडि हलो, कुटी र कोदालो सजाएर आफ्नै पसिनाको मूल्य मागिरहेछ
आँखा अगाडि द्वारिका दरबारबाट कृष्ण सुदामाको कुटि गएको दृश्य नचाइरहेछ खैर !
कलिका कृष्णहरु मग्न छन् , मस्त छन् राजलिलामा !
म सोँचिरहेछु धन्न उसले मार्क्सवाद पढेन,\
पढ्दो हो त झापा विद्रोह जस्तै आज पर्सा विद्रोह हुनुपर्ने !
म सोँचिरहेछु धन्न उसले मार्क्सवाद पढेन,
पढ्दो हो त झापा विद्रोह जस्तै आज पर्सा विद्रोह हुनुपर्ने !
माइतीघर, काठमान्डौ