
२ पुष २०७७
काठमाडौं लगायत देशभरि नै ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मंगलबार काठमाडौं उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।
त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ ।
जाडोमा शीतलहरका कारण बढी प्रभावित हुनेमा सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तुलगायत ११ जिल्ला रहेको जनाइएको छ । शीतलहरबाट कम प्रभावित जिल्लामा झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गरी ११ वटा जिल्ला रहेका छन् । हिमपातका कारण ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुमपूर्व, म्याग्दी गरी २१ जिल्ला बढी प्रभावित रहेका छन् ।
मध्य तराईको पर्सा, बारा र रौतहटमा बाक्लो हुस्सुसँगै शीत लहर शुरु भएको छ । केही दिनदेखि सामान्य हुस्सु लाग्न शुरु भए पनि मंगलबार बिहानबाट भने हुस्सु शुरु भएको हो ।