वसन्त कुमार उपाध्याय
१० भाद्र २०७७, बुधवार
कमलादीको प्रज्ञाप्रतिष्ठान भवन आसपासमा एउटा नयाँ भवनको साइट हेर्ने जिम्मेवारी पाएसँगै काठमाडौँको बसाई सुरु भयो । अनि विस्तारै कफीको लत पनि । तर मलाई स्वाद लिने गरी कफी पिउन सिकाएको स्विटजरल्याण्डको साथी थोमसले हो । उ जति आर्किटेक्ट हो, त्यो भन्दा बढी कौशलता कफी बनाउनमा देखाउँथ्यो । इटालीको मेरा सिनियर ज्याकोमो अक्सर कफी बनाउँदा मेरा लागी पनि बनाउँथे । स्विस इन्जिनियर ड्यानियल पिट्टेटले बनाएको कफी मैले १५ एमएल भन्दा बढी पिउन सक्दिन । कडक !स्वादमा ।
नयाँ दिल्ली बस्दा मलाई अनिशाले कफी पिउन सिकाएकी थिइन । दिल्लीको युनाईटेड कफी हाउसमा । जो १९४२ देखि चल्दै आएको । लाल हंसराज कालराको विरासत हो युनाईटेड कफी हाउस । त्यहाँको परम्परागत फिल्टर्ड कफीको स्वाद नै बेग्लै हुन्थ्यो । तर मेरो लत बसेको थिएन उति बेला । उति बेलाको लत पुरानो दिल्लीमा रहेको शिला हलमा पुराना हिन्दी फिल्म हेर्ने थियो । राजकुमार काडायलग सुन्न रिलवाला क्यासेटमा डविङ्ग गराउने अजिबको लत थियो । उमेरसँगै यस्ता लत पनि बदलिँदो रहेछ ।
मलाई कहिलेकाहीँ के कुराले सताउँछ भने चिया खेती हुने दार्जिलिङकी अनिशा कफीकी पारखी कसरी भइन होला भनेर । (खैर, त्यता नलागौँ, कोरोनाको यो राज सकिएपछि लन्डनमा बसिरहेकी अनिशालाई नै यो प्रश्न सोधुँला ।)
काठमाडौँको मुटु मानिने दरबारमार्ग आसपास यहाँका ‘एलिट’ वर्गको चहलपहल खुबै देख्थेँ । को कहाँबाट आउँथे केही थाह हुँदैनथ्यो ।हुने कुरा पनि भएन यो नेपालगञ्जीयालाई ! केवल आई राखेको दख्थें, अनि गईरा देख्थेँ । कोरोना सङ्क्रमणको यो महामारीमा त्यो ‘एलिट’ वर्गको धैर्यतालाई ‘किगंस वे ‘जान नपाउँदाको छटपटी मेरो कफीको स्वाद भन्दा कडा लागीरा होला !!
दूर देखि दूरी बनाएर अनुमान मात्रै गर्छु । ‘एलिट’ वर्गसँग दूरी स्वाभाविक हुन्छ । अनि कोभिड -१९ सङ्क्रमण हुनबाट पनि केही हद सम्मजोगीईन्छ । दूरी बनाउँदा ।
नारायणहिटीको शान राजनीतिक रुपमा ओरालो लाग्दै गर्दा म काठमाडौँको उकालो चढेको थिएँ । राजाको निशान नारायणहिटीबाट हट्दै गर्दा पनि ‘किगंस वे’ को शान कतै घटेको लाग्दैनथ्यो । झिसमिसे साँझमा चिसो बढ्दा पनि पारदर्शी पोषकले जसरी ‘किगंस वे’कोराप बढाएर आउँथ्यो उसरी नै मेरा कौतुहलता बढ्दै जान्थे । कि कहाँबाट आउँछन् यति धेरै ‘एलिट’ हरु जो काठमाडौँलाई आफ्नो अनुकुल प्रयोग गर्छन् अनि ओझेल पर्छन् । यी र यस्ता थुप्रै मनघडन्ते कुरा मेरा मनमा त्यतिन्जेल खेलिरहन्थे जति बेलासम्म म दरबारमार्ग छाडेर कुपण्डोलको आफ्नो १२x१० को बट्टामा छिर्दैनथेँ ।
वास्तवमा यो सबै कफीको करामत थियो । त्यो भत्किएको पर्खाल भित्र स्वादिलो कफी पाउँछ भन्ने सुनेर मलाई तलतल नलागेको नहुँदो हो त पर्खाल भित्र मरिजाऊँ म जाने थिइन । चाहे उर्दी होस वा पर्खाल नै किन नभत्कियोस् । लत भन्या यस्तै हो हजुर !! फरियालगाउनेलाई पाइन्टको लत, पाइन्ट लगाउनेलाई सुटको लत । चुरोटेलाई धुवाँको लत, जँड्याहालाई मातिने लत । कपाल भएकीलाई कपाल काट्ने लत, श्रीमति भएकालाई बाहिर दाउ मार्ने लत !!
साइटमा कामदारहरूसँगको दिनभरिको वाक युद्धले गलेर लखतरान परेको शरीर । आफैसँग रहेको दमदार विभाग अर्थात् जिब्रो ले जब कफीको घुँट भेट्थ्यो कफीशपको छेवैमा रहेको भत्किन लागेको पर्खाल नाघेर मन पारी पुग्थ्यो । सायद ! त्यति त मेघदूत लेख्दा पनि कालिदासको मन डुलेन होला । पुग्थ्यो त पुग्थ्यो मन नै त हो, कसले रोक्ने !!मानिस पुग्ने कुरै थिएन ।
मन मनै खुलदुली हुन्थ्यो, कि यो भत्किनै लागेको पर्खाल भित्र कसको राज होला भनेर । देशमा राज गरेका राजाहरूको भूमिका हैसियत त हामीले पटक पटक देखिसकेका थियौँ नै !
दिनहुँ बिहान ८ बजेदेखि ५ बजे सम्म अनि कहिलेकाहीँ रातको नौ दश पनि बज्थ्यो साइटमा बस्दा । साइट अर्थात् निर्माण स्थल ।(सिभिल इन्जिनियरिङका बिद्यार्थिहरुलाई ज्ञात भएकै कुरो हो ।) कहिलेकाहीँ भाईब्रेटरको हावाले सिमेन्टसँगै बालुवा, गिट्टी र पानी पेलेर फर्मा भित्र कोच्या भन्दा कम लाग्दैन ‘किगंस वे’मा एक अर्कालाई स्पर्श गरेका दृश्य । त्यसैले ‘किगंस वे ‘को राप र शान झनै बढेको लाग्थ्यो मलाई । सिमेन्ट मोर्टारमा क्विक सेट राख्ने अनुपात र ‘एलिट’हरु कुममा कुम टाँस्ने ‘रेशीयो’ उस्तै लाग्थ्यो ।
कहिलेकाहीँ कमलादीको गणेश थान मन्दिर छेवैमा नेवारी खाजाले बिहानको छाक पनि टर्थ्यो । पूजा थाली बोकेर मन्दिर पुगेकाहरु गणेशलाई ‘खोटा सिक्का’ चढाएर ‘डलर’ कमाउने आशीर्वाद मागेर जान्थे । गणेश जीलाई झुकाएका हुन वा आँफु झुक्किएका हुन मैले कहिल्यै पत्तो पाइन । धार्मिक काम परिणाम भन्दा आस्था र विश्वासको कुरा हो । म पुरै सम्मानपूर्वक भक्तालुहरूलाई समर्थन गर्छु ।
काठमाडौँको एउटा गजबको कल्चर के लाग्यो भने जे जस्तो होस म नै सबै हुँ भन्ने ह्याङ्मा मानिस कुदी रहने रैछन । त्यो चाहे कुल्ली होस वा प्रधानमन्त्री !!
मैले पढ्या कुरा वीर धाराको पानी खाए हैजा भाग्छ भन्ने भनाइ कुनै बेला चर्चित थियो । श्री ३ वीरशमशेर अर्थात् ११ औं प्रधानमन्त्रीकापालामा हुन्थे रे यस्ता कुरा । अहिले ४१ औ प्रधानमन्त्री केपीशर्मा ओलीका पालामा कोरोनामा बेसार पानीको चर्चा भए झैँ । दोहोरो अकंमा पछाडिबाट दुवै जना १ नम्बरमा नै पर्ने, गजबको संयोग छ ।
राणा प्रधानमन्त्री श्री ३ वीरशमशेरले १९५३ मा भारतसँग सम्झौता गरे अनि भारतबाट नुन आउन थाल्यो रे !! नेपालमा त्यो भन्दा पहिला भोट (तिब्बत)बाट नुन आउँथ्यो । हाम्रा पालामा चीनसँग सम्झौता गरेर रेल ल्याउन गरेको कुरा पनि कम्ता सानो सम्झौता हो र !!! उहिले नुन त आयो अहिले रेल आउने पत्तो छैन ।
काठमाडौँ उपत्यका भित्र कतिपय ठाउँमा जमिन खोस्रँदा पनि पानी भेटिन्छ । कतै कतै ‘वाटर टेबल’ निकै माथि छ उपत्यकामा । तर मैले मञ्जु श्रीलाई कहिल्यै दोष दिइन । यदि त्यसो नहुँदो हो त जर्मनीमा बनेका ‘वाटर प्रुफीङ्ग कम्पाउण्ड’ बेचेर करोडपति हुने मौका कहाँ मिल्थ्यो यहाँका ‘एलिट’हरुलाई ।
त्यही भत्किन लागेको जस्तो देखिने पर्खाल साँच्चिकै एक दिन भत्किनै पो लाग्यो भनेर त्यो पर्खाल पारीका मालिकले यताको काम नगर्न उर्दी जारी गरे । उर्दी पनि कस्तो भने लालदरबार बनाउँदा वीरशमसेरले उर्दी जारी गरेको जस्तो (यो मेरो कल्पना ) । बहाना खोज्दै गरेको मलाई त्यही मौका छोपेर पर्खाल पारी जाने मौका मिल्यो । साँच्चिकै त्यो पारीको संसार ‘एलिट’ कै रै छ ।
त्यसै दिन मैले पहिलो पटक कफी पिउने मौका पाएँ, त्यो भत्किनै लागेको पर्खाल पारी । वास्तवमा त्यो वीरशमसेरले बनाएको दरवारुलालदरवारु थियो । स्विमङ्ग पुलमा पौडिरहेका ‘एलिट’जोडीले मसँग मेरै परिचय लिए । काम नगर्न उर्दी जारी गर्ने उनै थिए भन्ने मैलेबुझें ।
‘याक एण्ड यति’ होटेलका नामले चिनिने त्यो दरबारको फूलबारीमा मैले कफी पिउँदा वीरशमसेरको झल्को लाग्ने गजबको ‘एलिट’ राप पनि देखेँ ।
कुरो खास ठुलो वा भयङ्कर केही होइन । त्यस यता मैले त्यहाँ वर्गीय सङ्घर्षका थुप्रै नाइकेहरूलाई सिद्धान्त झोलामा राखेर स्विमङ्गपुलमा सिद्धान्त स्खलित भएको धेरै पटक देखेँ । एक हल गोरु समातेर गोरुको पुच्छर अमेठ्ने वर्गका हिमायतीहरूलाई मैले ‘लालदरबार’ भित्र ब्याडमिन्टनको कर्क हानेको देखेँ । गोरुको पुच्छर र कर्कमा भएको भुत्लाको रौँ को गोरु बेचेकोसम्म पनि साइनो भेटिन । अनि वर्गसंघर्षका लाल फेटाले स्विमङ्ग पुलमा यौनाङ्ग छोपेका झैँ लाग्यो ।
लालदरबारको भव्यतासँग राणाहरूको सभ्यता जोडिएको सम्झना आयो । अनि त आउजाउ भइरहने लालदरबार भित्रको स्विमिङ्ग पुलमा क्रिडारत कैयौँ कमरेडलाई अभिवादन गर्न कसरी हात उठ्थ्यो र !! दिउँसो खुल्ला मञ्चमा समाजवादको व्याख्या गरेर लालदरबारको अण्डरग्राउण्डमा स्नुकरको छडीमा सेतो डष्ट लगाउनेहरूको समाजवाद वास्तवमा सँधैभरीलाई अण्डरग्राउण्ड भइसकेको छ । लालसलाम भनेर सिद्धान्तलाई भजाउने कमरेडहरूको भाषण र पत्रिकामा लख्ने लेख भन्दा त मेरै नेपालगञ्जीया चिर कुट शायर साथीको शेर सुन्छु म । मलाई वर्गसंघर्षका बुख्याँचाहरुको प्रवृत्ति वीरशमशेर भन्दा कम होईनन भन्ने स्पष्ट भयो । समाजवादको जपना गर्नेहरूलाई लालदरवारको स्विमङ्ग पुलमा आलिङ्गन भएको देख्दा, यो लतको कुरा रैछ भन्ने बुझ्न मलाई समय लागेन ।
वास्तवमा यो सबै कफीको करामत थियो । त्यो भत्किएको पर्खाल भित्र स्वादिलो कफी पाउँछ भन्ने सुनेर मलाई तलतल नलागेको नहुँदो हो त पर्खाल भित्र मरिजाऊँ म जाने थिइन । चाहे उर्दी होस वा पर्खाल नै किन नभत्कियोस् । लत भन्या यस्तै हो हजुर !! फरियालगाउनेलाई पाइन्टको लत, पाइन्ट लगाउनेलाई सुटको लत । चुरोटेलाई धुवाँको लत, जँड्याहालाई मातिने लत । कपाल भएकीलाई कपाल काट्ने लत, श्रीमति भएकालाई बाहिर दाउ मार्ने लत !!
मलाई यो पटक १९४७मा बनेको लालदरबारको लतले सतायो, चारबुर्जा दरबारको लत अँझ अर्कै होला । सेतो दरवाको लत जसलाई छ उसैले बुझ्लान् । यहाँ सिंहदरबारको लत लागेकाहरूको जमात छ त ! हजुर !! नारायणहिटीको लतमा रहेकाहरू लगभग इतिहास हुने बेला भइसक्यो ।२०६४ साल यता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लतमा परेकाहरू कहाँ पुगिसके हेर्दा हेर्दै, चप्पलदेखि पजेरोसम्म ।
कतिपयलाई गगन प्रधानको हिमालयन जाभाले लतमा पार्यो होला तर गुल्मीको अर्ग्यानिक कफीको लत झनै गजबको हुन्छ । मलाई एउटा पत्रिकाका प्रधान सम्पादकले गुल्मीको कफी पहिलो पटक बालुवाटारमा खुवाएको सम्झना छ ।
दिल्लीको लालहंसराजको कफी हाउसबाट सुरु भएको कफीको स्वाद लिने आदत वीरशमसेरको लालदरबार र कमरेडहरूको लाल अभिवादनसम्म पुग्दा लत पो भइसकेछ ।
यति बेला विदेशमा सास्ती झेलेर देश फर्किन चाहनेहरूलाई राज्यले नै स्तर अनुसारका होटेलमा बस्न लगभग उर्दी जारी गरेको छ, यो उर्दीबडा हाकिम वीरशमसेर पाल्पाबाट फर्किएर सत्तामा पुग्न जारी गरेका उर्दी भन्दा कम लाग्दैनन् । अब जहाजको टिकट सहित होटेल बुक गर्नु पर्ने छ । यो स्टार होटेलको व्यवसायलाई टेवा पुग्ने उर्दी नै हो । दरबार हाई स्कुल खोलेर उदार बनेका वीरशमसेरले गोरखा दक्षिण वाहुशुरु गरेर फेरी उर्दी नै जारी गरेका हुन, कि सरकारको निर्देशन अनुसारको काम गर्नेलाई ‘आईडल’ बनाउँदै सत्ता लम्ब्याउन ।
पुछारमा, अब हामी करिब करिब कोरोनाको लतमा पर्छौँ । जसको न उपचार छ । आम नागरिकको परीक्षण हुन मुस्किल छ यहाँ । यो सबै बिस्तारै लत बन्दै जानेछ । युरोप र अमेरिका मास्क र स्यानिटाइजरको लतमा बर्सौँ देखि अल्झिएका थिए । अब हामी नेपाली पनि मास्क र स्यानिटाइजरसँगै गरिबिको लतमा फेरी पर्ने छौँ ।
लोक संम्वादवाट