पत्रपत्रिका
कान्तिपुर दैनिकबाट
१४ पौष २०७७, मंगलवार
धेरैजसो दास–मालिक, सामन्त र राजा–महाराजामा छर्लंग देख्न पाइने अधिनायकवादी चरित्र राजनीतिक नेताहरूको आचरणमा रहेको देखिन्छ भने ओलीतन्त्रले यसलाई राज्य, राजनीति र जनमानसमा पनि फैलाउँदै छ ।

छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु …
विश्वनाथ बरालका शब्द र शिशिर योगीको स्वर रहेको यस गीतको आफ्नै राजनीति छ, इतिहास छ ।

संसदीय प्रजातन्त्रसँगै राजनीतिक नेताहरू भ्रष्ट, बेकम्मा र बदनाम भइरहेका बेला यो देशमा एउटा मानिसको खोजी भएको थियो । स्थायी सत्ता, अभिजात वर्ग र भ्रष्टतन्त्रबाट वाक्कदिक्क मानिसले ‘सबल शासक’ खोजिरहेका बेला यो गीत निकै चर्चित भएको थियो ।

त्यो भनेको ‘बहादुरीपूर्वक’ संसद् विघटन र पार्टी विभाजन गरेका शेरबहादुर देउवा ‘असक्षम’ साबित भएर २०५९ सालमा सत्ताबाट गलहत्याइएर २०६१ सालमा ‘गोर्खाली राजाबाट पाइएको न्याय’ पुन: खोसिएको समय थियो । सबैजसो संसदीय नेतालाई पाउमा दाम चढाउन लगाउँदै, मुसालाई जस्तै खेलाउँदै गरेका ज्ञानेन्द्र प्रत्यक्ष शासनको तानाशाही मुद्रामा प्रकट हुनै लागेका बेला यो गीत सर्वाधिक बजेको थियो ।

यही गीत राजतन्त्रबाट गणतन्त्रमा फड्को मार्ने बेला मात्रै होइन, गणतन्त्रको संविधान निर्माणपछि तीव्र भएको सिंहासनमा चढ्ने र उतार्ने खेलोफड्कोका क्रममा नेताहरूबाट पनि गाइएको थियो । सोह्रबुँदे षड्यन्त्र र फास्ट ट्रयाक संविधानको बलमा सिंहासनमा आरूढ भएको २८७ दिनमै सिंहदरबारबाट बाहिरिएपछि खड्गप्रसाद शर्मा ओलीले २०७३ भदौमा एमाले युवाहरूको भीडसामु यही गीत गाएका थिए । आशुकवि ओलीले बरालका गेडामा थपेका थिए, ‘बिग्रिएको यो देशलाई समृद्ध बनाइदिने, चामत्कारिक रूपमा देश बनाइदिने मान्छे खोजिरहेको छु ।’

उदार तानाशाहको खोजी

कुनै बेला राजा महेन्द्र र महेन्द्रपुत्र ज्ञानेन्द्रले ‘एउटा मानिस’ को विम्बमा आफंैलाई आविष्कार गरेका थिए भने कुनै समय पुष्पकमल दाहाल प्रचण्ड र खड्गप्रसाद शर्मा ओलीले त्यस काल्पनिक तस्बिरमा आफ्नै अनुहार देख्ने गरेको पाइन्छ । महेन्द्रीय राष्ट्रवादबाट दीक्षित नेताहरूको काल्पनिकीमा ‘एउटा मानिस’ को विम्बमा आफैंलाई प्रतिस्थापित गर्ने अवधारणा, आकांक्षा र लोभ कम हुने सम्भावना निकै कम छ ।

भित्रभित्रै भारतसहित विदेशी शक्तिराष्ट्रहरूको सहमति र स्वार्थको लेनदेनमा जननिर्वाचित संसद् भंग गर्ने र दुईतिहाइ बहुमत भएको बीपी कोइरालाको सरकारविरुद्ध ‘कू देताँ’ गर्ने महेन्द्रको नजरमा अरू सबै निकम्मा नेता थिए भने आफू मात्रै कामयाब शासक थिए । यही अधिक बोध र बेसी मूल्यांकनका साथ उनले जननिर्वाचित नेता र लोकप्रिय नायकहरूलाई विस्थापित गर्दै अधिनायकका रूपमा आफैंलाई प्रतिस्थापित गरेका थिए । र, जनताबाट खोजिएको विकासप्रेमी, राष्ट्रवादी र चमत्कारी शासकको मुकुन्डो लगाएर प्रजातन्त्रको हत्या गरेका थिए ।

महेन्द्रको शासनकालमा हुर्केका प्रधानमन्त्री ओलीले पनि आफ्नो पार्टी–झगडाको निहुँमा जननिर्वाचित संसद् भंग गर्दै असंवैधानिक र अलोकतान्त्रिक काम त गरेका छन् नै, उनको दुष्कर्म सबै लोकतान्त्रिक अधिकारको हनन र उनलाई मन नपर्ने गणतन्त्रको संहारसम्म बढ्ने खतरा टड्कारो देखिँदै छ । उनले पनि ‘अरूले सय वर्षमा गरेको विकास आफूले दस वर्षमा गर्ने’ डिङ हाँक्ने महेन्द्रीय शैलीमा सुख, समृद्धि र विकासका काम गर्नै नदिइएकाले जनतासमक्ष जानुपरेको नक्कली कारण देखाएर ‘अब दुईतिहाइको बलियो सरकार बनाएर चमत्कार गर्ने’ दाबी गर्दै छन् ।

‘विकास, राष्ट्रवाद, सबल नेतृत्व र देश निर्माण’ धेरैजसो सर्वसत्तावादी शासक वा दबंग नेताहरूले आम मान्छेको मनमस्तिष्कलाई उपनिवेश बनाउन प्रयोग गर्ने विशिष्ट नारा हुन् । भारतविरोधी राष्ट्रवादी घोडा चढ्दै ओलीवादले उरालेको नारा हो— स्थिरता, समृद्धि र समाजवाद । सार्वजनिक खपतका लागि उरालिने यस्ता नाराको नेपथ्यमा भने सर्वसत्तावादी नेता बन्ने आकांक्षा र अधिनायकवादी शासक हुने इच्छा लुकिरहेको हुन्छ, ‘एउटा मानिस’ को विम्बभित्र अमानुष दबंग छिपिरहेझैं ।

‘ओलीतन्त्र’ र ‘ओलीगार्की’

यस्तै लोकरिझ्याइँले भरिएका नाराबाट भ्रमित र लोभित जनमतका बलमा करिब दुईतिहाइको सरकार हाँकेका खड्गप्रसाद शर्मा ओलीका नीति, निर्णय र नियत अब पटक्कै अदृश्य छैनन् । खासमा भ्रष्टाचार र बेथितिको महामारी, नालायक शासनप्रति जनअसन्तुष्टिको दमन तथा सबैजसो लोकतान्त्रिक अधिकारको हनन नै ‘ओलीतन्त्र’ का पर्याय भएका छन् । अब ‘ओली’ शब्द हाम्रो जमानाका शासकको थरमा मात्रै सीमित रहेन । राष्ट्रवादी हुँकारका साथ जनमानसलाई सुख–समृद्धि–विकासको प्याकेज बेच्दै र समाजवादको सपना देखाउँदै आसेपासे पुँजीपतिहरूलाई निर्लज्जताका साथ पोस्ने शासन नै खासमा ओलीतन्त्र हो । यसलाई मूलत: नेपालीभाषी पहाडी खस–आर्यका सवर्ण पुरुष–इतरमाथि ‘ओली–पाङ्ती’ (भेदभाव वा पक्षपात) सँगै लोकतान्त्रिक अधिकारविरुद्ध खड्ग–प्रहारबाट जन्माइएको, हुर्काइएको हो ।

वर्तमान नेपालमा लोकतन्त्रलाई दलतन्त्रमा, दलतन्त्रलाई चाहिँ व्यक्तितन्त्रमा रूपान्तरित गर्ने क्रमसँगै ओलीतन्त्रको हालीमुहाली सुरु भएको हो । ओलीतन्त्रलाई ‘ओलीगार्की’ का रूपमा मात्रै, कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको शासनका रूपमा मात्रै बुझ्दा वस्तुवादी नहुने खतरा छ ।

ओलीतन्त्रलाई राजनीतिशास्त्रको सानो समूह शासन वा ‘अल्पतन्त्र’ का रूपमा प्रचलित ‘ओलीगार्की’ (अल्पतन्त्र) को समानार्थीका रूपमा मात्रै बुझियो भने यसलाई कम आँकेको ठहरिन्छ । ‘ओलीगार्की’ त शाह र राणा शासनमा मात्रै होइन, लोकतान्त्रिक र वामपन्थी आवरणका शासकहरूले प्रयोग गरेकै शासनशैली हो । राजतन्त्रमा जन्म, ज्येष्ठता र जेन्डरका आधारमा नमरेसम्म उपभोग गरिने सिंहासनको लोभ तथा सत्ता–शक्तिको खटमा बसेर घाटसम्मै जाने महत्त्वाकांक्षा पालेर बसेका ‘नयाँ राजा’ हरूले पनि यस्तै तन्त्र चलाउनु अनौठो होइन । ओलीतन्त्र ‘आशियाँ रेजिम’ (पुरातन शासन) को जिउँदोजाग्दो प्रतिमूर्ति भएकै कारण मात्रै आलोचना, विरोध र प्रतिरोधको तारो भएको होइन ।

ओलीतन्त्रमा ‘अधिनायकवादी चरित्र’

ओलीतन्त्र भ्रष्ट, स्वार्थी र लोभीपापीहरूको सानो स्वार्थ–समूहको शासन मात्रै रहेन; यो त विशिष्ट शासकीय प्रवृत्तिको रूपमा विस्तार भएको छ । त्यो प्रवृत्ति हो— अरू सबैमाथि एकछत्र प्रभुत्व र सत्ता–शक्तिमाथि एकाधिकारबाहेक अरू सब भ्रम हो भन्ने ‘अधिनायकवादी चरित्र’ (अथोरिटेरियन क्यारेक्टर) । हाम्रो सामाजिक जीवनका सबै पक्षमा एकछत्र प्रभुत्व कायम गर्ने प्रयाससँगै राज्यका सबै अंगमा एकाधिकारको कोसिस तथा संसद्, संविधान, लोकतन्त्र र गणराज्यलाई नै निरंकुशताको जुवामा राखेर ‘सुमति वा उदारता भएको तानाशाह’ बन्ने प्रयत्नले ओलीतन्त्रसँगै ओलीको ‘अधिनायकवादी चरित्र’ लाई पनि उजागर गरेको छ ।

जर्मन मनोविश्लेषक एरिक फ्रमका विचारको प्रकाशमा हेर्दा देखिन्छ— मुसोलिनीको फासीवादी व्यवस्था र हिटलरको नाजीवादी शासन, मोदीको हिन्दुत्ववादी तन्त्र र ओलीतन्त्रलाई अधिनायकवादी भन्नुको कारण हो : हाम्रो सामाजिक संरचना र राजनीतिक जीवनमाथि तिनको प्राधिकारको प्रभुत्वशाली भूमिका क्रियाशील हुनु । तर, ‘अधिनायकवादी चरित्र’ शब्दले भने व्यक्तित्वको संरचनालाई जनाउँछ, जुन फासीवादले तयार गर्ने मानसिक आधार हो ।

‘द फियर अफ फ्रिडम’ का लेखक फ्रमका अनुसार, ‘अधिनायकवादी चरित्र’ खासमा शासन–तन्त्रको व्यवहारभन्दा बेसी शासन गर्नेहरूको चरित्र हो, शासकहरूको व्यक्तिगत चालचलन हो । एकातिर यो प्राधिकार (अथोरिटी) लाई पुज्ने शक्तिपूजक प्रवृत्ति हो, प्राधिकारप्रति पूर्ण समर्पण (सबमिसन) को आचरण हो; अर्कातिर आफैं प्राधिकार बन्ने लालसा हो भने अरूबाट आफ्नो प्राधिकारप्रति समर्पणको चाहना पनि हो ।

मनोविज्ञानमा विनाश वा क्षय हुने हदसम्म अन्य व्यक्तिमाथि आफ्नो निरंकुश सत्ताको आकांक्षालाई ‘स्याडिजम’ (परपीडन) का रूपमा बुझिन्छ । आफूभन्दा अचाक्ली बलियो शक्तिसामु स्वत्व नै विघटन गर्ने वा त्यसको तागतको भक्ति र महिमागानमा लीन हुने चाहनालाई ‘मेसोकिजम’ (स्वपीडन) मानिन्छ । यस्तो किसिमको असमान र अपमानपूर्ण शक्ति–सम्बन्ध वर्तमान राज्यका सबै निकायमा लागू गर्न खोजिँदै छ र विपक्षीहरूलाई काबुमा पार्न यही सम्बन्ध विस्तार गर्न खोजिँदै छ, त्यो पनि आफ्नो टाउकामा लोकतान्त्रिक, वामपन्थी र कम्युनिस्टको पगरी आफैं गुँथ्ने नेताबाटै । अदालत, अख्तियारसँगै संवैधानिक आयोगमा नियुक्तिको लेनादेना र आत्मसमर्पणको माग तथा तिनका व्यवहारले शक्ति–सम्बन्धलाई व्यापक बनाउने निश्चित छ ।

सके प्रभुत्व जमाऊ, नसके त्वं शरणम् गर !

धेरैजसो दास–मालिक, सामन्त र राजा–महाराजामा छर्लंग देख्न पाइने अधिनायकवादी चरित्र राजनीतिक नेताहरूको आचरणमा रहेको देखिन्छ भने ओलीतन्त्रले यसलाई राज्य, राजनीति र जनमानसमा पनि फैलाउँदै छ । चाहे हिटलर होऊन् मुसोलिनी, चाहे ओली होऊन् या दाहाल, नेपाल, देउवा, धेरैजसो नेताको दमनकारी परिवार र समाजमा हुर्काइ, युवावस्थामा सत्ताका लागि गरिने विद्रोह र सत्तासीन हुँदाका आचरणको मनोविश्लेषण गरियो भने ओलीतन्त्र चलाउनेहरूको अधिनायकवादी चरित्र छर्लंग देखिन सक्छ ।

अधिनायकवादी चरित्र भएका मानिसको संसारमा दुईवटा मात्रै वर्ग हुन्छन्— शक्तिशाली र शक्तिहीन । उनीहरूका लागि शक्तिशाली उच्च, श्रेष्ठ, पवित्र हुन्छ भने शक्तिहीनचाहिँ नीच, हीन र अशुद्ध । उनीहरूका हेराइ, हुर्काइ र बुझाइको विश्वमा पनि अरूप्रति माया–प्रेम, समता र ऐक्यबद्धता हुँदैन; बरु उनीहरूको व्यवहार प्रभुत्व वा समर्पणमा सीमित हुन्छ : सके प्रभुत्व जमाऊ, नसके ‘त्व शरणम्’ गर † उनीहरूका लागि जनता भनेका पाँचवर्षे मतदाता मात्रै हुन्; मतबाट आफ्नो सार्वभौमिकता संसद्लाई, संसद्बाट बहुमत भएको दललाई, दलबाट नेतालाई हस्तान्तरण गरेपछि जनताको कुनै काम हुँदैन, नेता वा प्रधानमन्त्रीका आदेश पालना गर्ने र स्वपीडनमा मग्न हुनेबाहेक ।

यस्तो असमान शक्ति–संरचना र सम्बन्धमै पितृसत्ता कायम रहेको हो, परिवार, समाज, राष्ट्र र देशका स्रोत र शक्तिमा पुरुषको प्रभुत्व र वर्चस्वका रूपमा । यही पितृसत्ता र त्यसको शास्त्रले नै कहिले ‘राष्ट्र–पिता’ को संकथन बनाउँछ त कहिले ‘केपी बा’ वा ‘ओली बा’ को भावभूमि तयार गर्छ । ओली आपसी पोसाइ र सभक्ति समर्पणको परिणामस्वरूप पार्टी र भ्रातृ संगठनका नेताका लागि ‘कर्म दिने बा’ वा राजनीतिक संरक्षण दिने र प्रश्नभन्दा माथि रहने अभिभावक भइसके ।

उनलाई व्यक्तिगत रूपमा अभिभावक ठान्नेहरूका नजरमा उनी अहिले नै पार्टी, जनता र देशका ‘बा’ भइसकेका छन् । संसद् विघटनको बा–आदेशलाई अदालतले पनि ठप्पा लगायो भने, राजनीतिक दलसँगै जनप्रतिरोध तीव्र भएन भने, ओलीतन्त्र, राज्य, पार्टी र समाजमा रहेका त्यसका अरिंगालले आम जनतालाई पनि ‘बा’ भन्न बाध्य पार्न सक्छन्; देश, जनता र लोकतन्त्र भनेकै बा हुन् भन्ने वातावरण बनाउन सक्छन् ।

योभन्दा खतरनाक पक्ष के हो भने, शासक वा नेताको मात्रै होइन, जनताको निश्चित तप्काका विचार वा व्यवहार पनि अधिनायकवादी चरित्र र प्रवृत्तिको हुन सक्ने भएकाले, ती दुवै खेमाको हेराइ, बुझाइ र गराइको ‘वेभलेन्थ’ मिल्न सक्ने भएकाले अधिनायकवादीहरूको पिछलग्गू हुने भीडको अभाव हुँदैन ।

परिणामस्वरूप शासक वा नेताका अधिनायकवादी शासन, विचार वा व्यवहारबाट आम जनताको निश्चित जमात साह्रै प्रभावित हुन्छ; तिनका राष्ट्रवादी आह्वान, विकासे आश्वासन र लोकरिझ्याइँका आचरणबाट मोहित हुन्छ । अनि आम रूपमा मतान्धता र जुझारुपनासँग निम्न–मध्यम वर्गको भीड एकाकार भयो भने देश र समयअनुसारका फासीवादी वितण्डाको उभार आउने गरेको छ । यसबाट पहिल्यै मुक्त हुन ओलीतन्त्रको प्रतिकार, तत्कालका लागि संसद्को पुन:स्थापनासँगै उन्नत जनमुखी लोकतान्त्रिक व्यवस्थाको सपना कोरल्ने क्रमसँगै नेता, अभियन्ता र हामी आम जनतामा रहेको अधिनायकवादी चरित्र उधिन्ने तथा आफूलाई मुक्त गर्ने सांस्कृतिक अभियानको खाँचो पनि टड्कारो छ ।

(मंगलबार प्रकाशित कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रतिक्रिया

सम्बन्धित खवर