२५ आषाढ २०७८, शुक्रवार

काठमाडौं-अभिनेत्री तथा निर्मात्री जेनी कुँवर अब यो संसारमा रहिनन् ।

अभिनेत्री कुँवरले बिहिबार राति करिव ९ बजे आफ्नै निवास थापागाउँमा आत्महत्या गरेर आफ्नो प्राण त्यागेकी छिन् ।

प्रहरीका अनुसार उनको शव थापागाउँस्थित सनराइज अपार्टमेन्टमा झुण्डिरहेको अवस्थामा फेला परेको थियो ।

वानेश्वर प्रहरी वृत्तको डिएसपी मिनबहादुर लामाका अनुसार अभिनेत्री कुँवरको शव उनको आफ्नै भान्सा कोठामा झुण्डिरहेको अवस्थामा फेला परेको थियो ।

अभिनेत्री कुँबरले आफ्नै निवासको भान्सा कोठामा नाइनलको डोरीमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि उनले आत्महत्या गरेको खुलेको छ ।

घटनास्थलबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ ।

अभिनेत्री कुँबरले आत्महत्याको बाटो रोज्नुको कारण डिप्रेसन रहेको बताइएको छ ।

पछिल्लो समय उनी डिप्रेशनको शिकार भएको बताइन्छ ।

आफ्ना श्रीमान् संगै अपार्टमेन्टमा बस्दै आएकी उनी पछिल्लो एक वर्षदेखि डिप्रेशनको औषधि समेत सेवन गरिरहेको बताइन्छ ।

अभिनेत्री कुँवरले आफ्नो अभिनय यात्राका क्रममा एक दर्जन बढी नेपाली फिल्महरुमा अभिनय गरेकी छिन् ।

अभिनेत्री कुँवरले ‘जिन्दगानी’ बाट अभिनय यात्रा प्रारम्भ गर्दै मैदान, जीवनदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल, धूम, मिस्टर डन, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, बिन्ती पत्र, सहितका फिल्ममा अभिनय गरेकी थिइन् ।

फिल्मबाहेक अभिनेत्री कुँवरले म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् ।

भिडियोमा अभिनय गर्नुका साथै उनले केही भिडियोहरु निर्देशन समेत गरेकी थिइन् भने केही गीतमा स्वर समेत दिएकी थिइन् ।

विगत केही वर्षदेखि उनले आफ्नो अधिकांश समय पशुपति क्षेत्रमा बिताउने गरेकी थिइन् ।

उनका क्रियाकलापहरुले समेत मानिसहरुले उनी डिप्रेशनमा गएको अनुमान गरेका थिए ।

अभिनेत्री कुँवर फिल्म निर्मात्री समेत थिइन् ।

उनले घायल तथा हलचल जस्ता फिल्महरु निर्माण गरेकी थिइन् ।

फिल्म निर्माणबाट खासै उपलब्धि नभएपछि उनी यो क्षेत्रबाटै टाढिएकी थिइन् ।
उनले निर्माण गरेका दुबै फिल्म व्यवसायिक रुपमा असफल भएका थिए ।

फिल्मबाट पाएको असफलताकै कारण उनले धार्मिक तथा आत्यात्मिक मार्ग अपनाउने निर्णय गरेको अनुमान गरिन्छ ।

आफ्ना दुबै फिल्म असफल भएपछि अभिनेत्री कुँवरले फिल्म निर्माण कार्य निकै पीडादायी भएको अभिव्यक्ति त्यतिबेलै दिएकी थिइन् ।

यसअघि उनले करिव ६ महिना विपश्यना ध्यान शिविरमा समेत बिताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर