२० मंसिर २०७७                                                            जिल्ला प्रशासन कार्यालय पर्साले उद्योग अनुगमनको क्रममा घुस लिएको आरोपमा चार जना कर्मचारीलाई पक्राउ गरेको छ ।

परवानीपुरस्थित एक टेक्सटाइलमा अनुगमन गर्ने क्रममा घुस लिएको आरोपमा वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका ४ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको हो ।

अनुगमनको क्रममा उक्त कार्यालयका सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहले ११ हजार रुपैया घुस लिएका आरोपमा पक्राउ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिए ।

उनका अनुसार उद्योग अनुगमनको क्रममा ११ हजार घुस लिएको पुष्टि भएपछि बिहीबार उनीहरुलाई नियन्त्रणमा लिएर कार्यालयका प्रमुखको जिम्मामा छाडिएको बताए ।

‘उनीहरुमध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले प्रहरीको नियन्त्रणमा नराखेर कार्यालय प्रमुखको जिम्मा छाडिएको छ’, प्रजिअ तामाङ्गले भने, ‘उनीहरु कोरोना संक्रमण मुक्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाइने छ ।’

गुणस्तर तथा नापतौल कार्यालयले सातामा दुई÷तीन दिन नियमित अनुगमन गर्ने गरेको छ । सोही क्रममा गण्डक चोकका केही उद्योगमा नापतौल कार्यालयबाट अनुमति नलिई तौल गर्ने गरेको भन्ने सूचनाका आधारमा विहीबार उनीहरु अनुगमनका लागि गएका थिए ।

तर, उनीहरुले टेक्सटाइल उद्योग अनुगमन गर्न जाँदा घुस लिएका पाइएको हो । उनीहरुले ११ हजार घुस लिएको र गाडीमै बाँडफाँड गरेको स्वीकार गरेका जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उनीहरुले टेक्सटाइल उद्योगको अनुगमनपछि नापतौल गर्ने मेसिन खराब छ, भनेर काँटा नियन्त्रणमा लिए । त्यसपछि बार्गेनिङ गरेर ११ हजार रुपैयाँ घुस लिएर काँटा फिर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर