४असाेज काठमाडौं । कथित उच्च घरानियाँ भनेर चिनिने शंकर ग्रुप ठगी धन्दामा मस्त भइरहँदा आमउपभोक्ता भने आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भन्दै रातदिन चिन्तित भएका छन् । शंकर ग्रुपद्वारा उत्पादित जगदम्बा ब्रान्डका गुणस्तरहीन फलामे डन्डी प्रयोग गरेर घर बनाएका सर्वसाधारण आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भयले चिन्तित भएका हुन् ।

भूकम्पको जोखिम र लगातारको पराकम्पले सर्वसाधारण जनताको घर हल्लिने र चर्कने डर छँदै छ । यस्तो अवस्थामा जगदम्बाको रड प्रयोग गरेर घर बनाउने हजारौं सर्वसाधारणको घर दिन प्रतिदिन जोखिमयुक्त बन्न थालेका हुन् । सर्वसाधारण जनतालाई विभिन्न झुटा नारा र आश्वासन दिएर ठगी धन्दा गर्दै आइरहेको शंकर ग्रुपको पछिल्लो जगदम्बा ब्रान्डका गुणस्तरहीन फलामे डन्डी फेला परेको पुष्टि भएपछि अहिले आमउपभोक्ता चिन्तित भएका हुन् ।

गुणस्तर तथा नापतौल विभागले ‘देशको मेरुदण्ड’ को भ्रामक नारा दिँदै बजारमा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्ता ठगी धन्दामा मस्त शंकर ग्रुपको जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी गुणस्तरहीन प्रमाणित गरी सो डन्डी उत्पादन र बिक्रीमा रोक लगाइसकेको छ । त्यसरी रोक लगाएपछि केही वर्षअघि सोही डन्डी प्रयोग गरेर घर निर्माण गरिसकेका उपभोक्तासमेत त्रसित भएका छन् ।

जगदम्बाा र शंकर ग्रुपमाथि विभागले कारबाहीको प्रक्रिया अघि बढाए पनि पछिल्लो समय आलटाल देखिएको छ । विभागले कारबाही प्रक्रियालाई तीव्र बनाउन नसक्दा ठगी धन्दा गर्नेहरूमा उल्टै उत्साह पलाउन थालेको छ । विभागले जगदम्बा स्टिल्स उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी आफ्नो प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरूप नपाइएपछि कारबाहीको प्रक्रिया अघि बढाएको थियो । संकलित नमुनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ ।

मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस प्रकारको गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाइएको बताए । उनले सो ब्याचको सम्पूर्ण डन्डी बजारबाट फिर्ता लिनसमेत सो उद्योगलाई निर्देशन दिइएको जानकारी गराए । अब बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउनसमेत निर्देशन दिएको बताउँदै पुडासैनीले भने, ‘अझै यस उद्योगले विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ ।’

उनले अहिले बाराको सिमरास्थित उद्योगमा मौज्दात रहेको १६ एमएमका करिब ३०० टन डन्डी विभागको प्रतिनिधिको रोहवरमा स्क्राप (नष्ट) गर्न विभागबाट प्राविधिकको टोली त्यसतर्फ जाने बताए ।

विभागले निर्देशन दिएकै दिनबाट सो उद्योगको उत्पादन बन्द भएको जानकारी गराउँदै महानिर्देशक पुडासैनीले सो साइजको डन्डी उत्पादनको गुणस्तर नसुधारेमा अहिले रोकिएको इजाजत नै रद्द नै हुने बताए ।

विभागको निर्देशनअनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका डन्डी फिर्ता लिनुपर्नेछ । विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले पनि जगदम्बा स्टिल प्रालिले १६ एमएमको फलामे डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको बताए ।

विभागका अनुसार परीक्षणको क्रममा जगदम्बा स्टिलको फलामे डन्डीमा केमिकलको मात्रा धेरै पाइएको छ । सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ  । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ । अहिले उसले बजारमा पठाएका यस ब्याचका डन्डी सोही खालका हुन सक्ने भन्दै यसअघि घर निर्माण गरेका उपभोक्तासमेत थप चिन्तित भएका हुन् ।

गत साउनमा काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डन्डी भाँच्चिएको फेला परेको थियो । सो डन्डी गुणस्तरहीन भएको भन्दै घरधनी भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो ।

अनुसन्धानको क्रममा फलामे डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कवाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा यस्तो लापरवाही भेट्टिएपछि अन्य उपभोक्ताको हितका लागि यस्तो कमसल डन्डी बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको विभागले जनाएको छ ।

यसअघि पनि जगदम्बा स्टिलका उत्पादनमा धेरै पटक प्रश्न उठेको थियो । समस्या आएका ठाउँमा सो कम्पनीले आफ्ना प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डन्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको थियो  । अहिले काठमाडांै महानगरपालिका–१६ बोहोराटारका भट्टराईको तीनतले घरलाई पनि १० वर्षको बिमा गरिदिने र लाइफ ग्यारेन्टी लिने सम्झौता गरी ठगी धन्दाबाट पुनः उम्कने प्रयास गरेको छ ।

यसअघि जगदम्बाको डन्डी प्रयोग गरेर बनाइएका अन्य सयांै घरको पनि यसरी नै बिमा र लाइफ ग्यारेन्टीको सम्झौता गर्न सक्छ भन्ने प्रश्नसमेत सर्वत्र उठ्न थालेको छ ।

जगदम्बाका धेरै उत्पादनमा कैफियत
कवाडी ब्लेडको प्रयोग अत्यधिक

जगदम्बाकै छड प्रयोग गरी घर निर्माणमा संलग्न अन्य उपभोक्ता एवं सरोकारवालाले हाल जगदम्बालगायत केही उद्योगले टुक्रादेखि, खिया लागेर काम नलाग्ने कवाडी फलामसमेत संकलन र प्रशोधन गरी नयाँ छड बनाउने गरेकाले यस्तो समस्या आएको दाबी गर्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूका अनुसार अहिले जगदम्बाले थोत्रा फलाम पगाल्न भट्टी बनाएको छ । उच्च तापक्रममा फलामका थोत्रा सामान पगालेर लिक्विड आइरन बनाइन्छ  । क्रमशः तापक्रम घटाएर फलामको ब्लेड बनाइन्छ । त्यसलाई रड बनाउन प्रयोग गरिन्छ  । यस्तो कवाडी फलाम पगालेर बनाइने रडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छ  । प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ  । अधिकांश उद्योगमा प्राइमरी ब्लेड र सेकेन्डरी ब्लेड प्रयोग गर्ने गरिन्छ । प्राइमरी ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलो पटक प्रयोगमा ल्याइएको हुन्छ । सेकेन्डरी ब्लेडमा खेर जाने खालका कवाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छ । अहिले शंकर ग्रुपको यस उद्योगले कवाडी ब्लेडबाट बनाएको छड गुणस्तरहीन पाइएको हो ।

हरेक मानिस आफ्नो जिन्दगीभरको कमाइ लगानी गरेर घर बनाउन लाग्दा गुणस्तरीय सामान प्रयोग गर्न चाहन्छन् । अझ घरको मेरुदण्ड भनेको घरमा प्रयोग हुने फलामे छड नै हो । जसले घरलाई मात्रै होइन, सो घरमा बस्नेलाई पनि जुनसुकै विपत्तिबाट बचाउन सक्छ । तर, त्यही मेरुदण्ड कमजोर भयो भने मानिसले निकै तनाव भोग्नुपर्दछ । हो, त्यस्तै तनाव अहिले जगदम्बा स्टिलका छड प्रयोग गर्ने आमउपभोक्ताले भोग्नुपरेको छ ।

ठगी गर्नेहरू शक्तिकेन्द्र धाउँदै

सम्बन्धित सरोकारवालाका अनुसार अहिले शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवाल यस प्रकरणलाई कमजोर बनाउन विभिन्न शक्ति केन्द्रहरूमा धाइरहेका छन् । अर्का सञ्चालक सुलभ अग्रवाल पनि निकै दौडधुप गरिरहेका छन् । अब यस गुणस्तरहीन फलामे डन्डी बिक्री प्रकरणमा गुणस्तर विभागले कारबाहीसहित नयाँ निर्णय नगरेसम्म सो ग्रुपको बारामा सञ्चालित जगदम्बा स्टिल उद्योगको उत्पादन र बिक्रीमा प्रतिबन्ध नै रहनेछ ।
गुणस्तर विभागले मात्र नभएर अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यस ग्रुपमार्फत सञ्चालित सम्पूर्ण लगानीका कम्पनीमाथिको छानबिन प्रक्रियालाई तीव्रता दिने बताएको छ । यद्यपि सम्पत्ति शुद्धीकरणको कारबाही प्रक्रियाले भने तदारुकता लिन सकेको छैन । साहिल नेपाल उद्योग वाणिज्य महासंघका सदस्य पनि हुन् ।

अख्तियारको नजर
शंकर ग्रुपले सर्वसाधारणदेखि लिएर ठूला ठूला विकास निर्माणका काममा समेत जगदम्बाका गुणस्तरहीन डन्डी बिक्री गरेको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस प्रकरणलाई गम्भीर चासोका रूपमा लिएको छ ।
अख्तियारले शंकर ग्रुपको ठगी धन्दामाथि छानबिन गरिरहेको गुणस्तर तथा नापतौल विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन कार्य माथि समेत निगरानी गरिरहेको छ । अख्तियार स्रोतका अनुसार यस्तो अवस्थामा सरकारी निकाय र शंकर ग्रुपबीच मिलेमतो भएको पाइएमा अख्तियार आफंैले छानबिन गर्नेछ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले सर्वसाधारण ठगिएको विषयलाई गम्भीरतापूर्वक लिइएको र उचित कारबाही नभए सम्बन्धित निकायसहित शंकर ग्रुपलाई समेत छानबिनको घेरामा ल्याइने बताए ।
‘यो विषय गम्भीर छ, कतै कसैको मिलेमतोमा विषयलाई सामान्य बनाउन खोजिए त्यस्ता व्यक्तिविरुद्ध भ्रष्टाचारमा छानबिन थालिनेछ,’ अख्तियार प्रवक्ता अधिकारीले राजधानीसँग भने ।

उपभोक्ताको आक्रोश

बोहोराटार खरिबोटका भट्टराईसँगै जगदम्बाकै छड प्रयोग गरेर घर निर्माण गरेका तुलसीराम तिवारी, निर्माणको ठेक्का लिएका अरुण पाण्डे र अन्य उपभोक्ताले समेत अहिले यस्तो गुणस्तरहीन छड प्रयोगले अन्य घरहरू पनि कमजोर भयो कि भन्ने चिन्तासहित आक्रोश व्यक्त गरेका छन् । अहिले उनीहरूले यस उद्योगले छड बनाउँदा प्रयोग गरेको कच्चा पदार्थदेखि उत्पादन र गुणस्तरका सबै विषय छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न र यस्तो कार्यमा संलग्न सञ्चालकलाई तत्काल कडा कारबाही गर्नुपर्ने माग गरिरहेका छन् । नत्र आफूहरू संगठित भएर यस उद्योगविरुद्ध आन्दोलनमा उत्रनसमेत बाध्य हुने उनीहरूको भनाइ छ । तर यस उद्योगले सरकारी निकाय एवं राजनीतिक पहुँच र शक्तिको भरमा यस्ता मागलाई कुल्चँदै आएको पीडितहरूको भनाइ छ ।

यसरी गरिन्छ उम्कने प्रपञ्च

लकडाउनका बेला थर्मलगनको कालोबजारी गर्दै गर्दा रंगेहात पक्राउ परेका शंकर ग्रुपका अर्का सञ्चालक सुलभ अग्रवालले हतार हतार धरौटी राखेर काठमाडांै जिल्ला अदालतबाट छुटेपछि यसलाई आश्चर्यमा रूपमा हेरिएको थियो । जिल्ला अदालतबाट छुटेलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी केही समय नियन्त्रणमा लिए पनि अन्ततः उनी छुट्न सफल भए । यसलाई पनि थप शंकाका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर