१३ भाद्र २०७७, शनिवार
रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाअन्तर्गत कोइला क्षेत्रमा रहेको रोल्पा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन घटाएको छ । सिमेन्ट उत्पादन गर्नुपर्ने उक्त उद्योगले पछिल्लो समय भने उद्योग क्षेत्र वरपर रहेको चुनढुुङ्गा लगायतका कच्चा पदार्थ बिक्री वितरण गर्दै आएको छ ।
अहिले आन्तरिक राजस्व कार्यालय तुलसीपुरले कच्चा पदार्थ बाहिर बिक्री गरेको बिलको अनुसन्धान गरिरहेको छ । राजस्व कार्यालय प्रमुख लक्ष्मण श्रेष्ठले भने, “बिलको अनुसन्धान गर्दै छौँ, फर्जी बिल फेला परे कारबाही गर्छौं । ” आन्तरिक राजस्व कार्यालय तुलसीपुरले रोल्पा, दाङ, प्युठानमा रहेका सिमेन्ट उद्योग ठूूला करदाता भएकाले अन्तःशुल्क मात्रै लिने गरेको छ ।
यता खानी तथा भूगर्भ विभागका प्रवक्ता जयराज घिमिरेका अनुसार कुनै पनि उद्योगले माइनिङ लाइसेन्स नवीकरण गरेको खण्डमा मात्रै अन्यत्र कच्चा पदार्थ बिक्री वितरण गर्न पाउँछन् । दैनिक दस चक्के टिप्परले १६ टन मात्रै कच्चा पदार्थ बोक्न पाउने व्यवस्था छ तर यो क्षेत्रमा गाडीले दैनिक २७ टन बोक्दै आएका छन् ।
क्षमताभन्दा बढी कच्चा पदार्थ ढुवानी गर्दै आएका टिप्परका कारण राप्ती राजमार्गअन्तर्गत रहेको कपुरकोट–तुलसीपुर सडक खण्ड खाल्डाखुल्डी भएको छ भने कालोपत्रसमेत उप्किएको स्थानीयवासीको गुनासो छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।