३ फागुन २०७७, सोमवार

सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रतिस्पर्धी र व्यवस्थित बन्दै गएको छ । योजना सुरु हुँदाको समयमा ल्याइएका प्रावधानमा भएका कमी कमजोरीलाई संशोधन र परिमार्जन गर्दै सामाजिक सुरक्षा कोषले प्रतिफल तथा सुरक्षा योजनालाई थप प्रभावकारी बनाएको हो ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन २०७५ लाई संशोधन गर्दै समाजिक सुरक्षा कोषले पछिल्लो पटक मात्रै ४ वटा सुविधामा परिमार्जन गरेको छ । परिमार्जित व्यवस्थाको बारेमा कोषले आइतबार सरोकारवालाहरुलाई जानकारी समेत गराएको छ ।

सामाजिक सुरक्षा योजना अन्तर्गत अहिले ४ प्रकारका सुरक्षा योजनाहरु छन् । यसअन्तर्गत औषधोपचार, सुरक्षा र मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना छन् । यी योजनामा संशोधन गर्दै कोषले थप व्यवस्थित बनाएको हो ।

के के छन् परिमार्जित व्यवस्था ? 

जतिपटक पनि मागदाबी गर्न पाइने

औषधोपचार, सुरक्षा र मातृत्व योजना अन्तर्गत वार्षिक १ लाख रुपैयाँसम्मको सुविधा पाउने व्यवस्था गरिएको छ । यस्तो भुक्तानी अस्पतालको बिल रकमका आधारमा भुक्तानी गर्ने व्यवस्था थियो ।

तर, एउटै व्यक्ति एक वर्षमा धेरैपटक उपचार गर्नुपरेको अवस्थामा के गर्ने भन्ने अन्यौलता थियो । त्यसलाई संशोधन गर्दै सो रकम बराबरको दाबी जतिपटक पनि गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै, मातृत्व सुरक्षा अन्तर्गत योगदानकर्ताको पत्नी सुत्केरी भएको ६ हप्तासम्मको उपचार खर्चका लागि दाबी गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि यस्तो समयावधिबारे उल्लेख गरिएको थिएन ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना,यो योजना अन्तर्गत अशक्तता वृत्तिको अधिकतम सीमा हटाइएको छ । यसअघि यस्तो रकम नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणा भन्दा बढी नहुने व्यवस्था गरिएको थियो । तर, यसलाई हटाएर आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम पाउने व्यवस्था मिलाइएको छ । यसले गर्दा धेरै पारिश्रमिक भई सोही अनुसार योगदान गर्ने योगदानकर्ताका लागि यसले राहत दिएको छ ।

योगदानकर्ताले उपदान पनि पाउने

यसअघि कुनै व्यक्तिले १५ वर्ष योगदान गरेको अवस्थामा ६० वर्ष पुगेपछि मात्रै निवृत्तिभरण (पेन्सन) पाउने व्यवस्था गरिएको थियो । यसका लागि कुल पारिश्रमिकमध्येको २८.३३ प्रतिशत रकम छुट्याइएको थियो ।

यो व्यवस्थालाई संशोधन गर्दै सामाजिक सुरक्षा कोषले पेन्सन र उपदान दुवै पाउने व्यवस्था गरेको छ । अहिले २८.३३ प्रतिशत योगदान रकममध्ये २० प्रतिशत पेन्सनलाई र बाँकी ८.३३ प्रतिशत अवकाश सुविधा योजना (उपदान) का लागि छुट्याएको छ ।

पेन्सन रकम ११.२५ प्रतिशत बढ्यो

त्यस्तै, यसअघि निवृत्तिभरण निर्धारण गर्दा कुल योगदान रकम र यसमा जोडिएको ब्याजमा १ सय ६० ले भाग गर्ने व्यवस्था गरिएको छ । यसअघि यसमा १ सय ८० ले भाग गर्ने व्यवस्था गरिएको थियो । यो परिवर्तनले अवकाशपछि पाउने रकममा ११.२५ प्रतिशत वृद्धि हुने अवस्था छ ।

२०७८ असार मसान्तसम्म कोषमा सहभागी हुनेहरु भने  पेन्सन योजनामा सहभागी नहुनसक्ने व्यवस्था समेत गरिएको छ । यसअघि २०७६ असार मसान्तसम्म योजनामा सहभागी हुनेलाई मात्रै यस्तो व्यवस्था गरिएको थियो । पेन्सन योजनामा सहभागी हुन नचाहने योगदानकर्ताका लागि २८.३३ प्रतिशत रकम नै उपदानबापत फिर्ता दिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर