
१९ पुस २०७७
एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीको शेयर आइतवारदेखि लिलामीमा विक्री खुला गरेको छ । बैंकले नागरिक लगानीकोष, नेशनल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको कुल ६ लाख २७ हजार २०० कित्ता शेयर विक्री गर्न लागेको हो । बैंकले यी कम्पनीको शेयर यस अघिपनि विभिन्न समयमा बोलपत्र आव्हान गरेको थियो ।
उक्त अवधिमा रितपूर्वक प्राप्त आवेदनमा माग भए बमोजिमको शेयर बाँडफाँट गरी बाँकी रहेको शेयर पुनः विक्रीको आव्हान गरेको हो । बैंकले नागरिक लगानीकोषको २ लाख २ हजार ५६० कित्ता , सूर्या लाईफ इन्स्योरेन्सको १ लाख ९० हजार ३७४ कित्ता , नेशनल लाईफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता र एशियन लाईफ इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता शेयर लिलामीमा विक्रीको आव्हान गरेको हो ।
पुस २४ गतेसम्म मात्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने यी शेयरहरु खरिद मूल्य नागरिक लगानीकोषको प्रतिकित्ता रू. १ हजार ७१५, नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ५५०, एशियन लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ४६९ र सूर्या लाइफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ३३७ तोकिएको छ । बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।
कम मूल्य अंकित गरिएको आवेदन स्वतः रद्ध हुने बैैंकले जानकारी दिएको छ । यी शेयर खरिदको लागि न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । अर्थिकन्युजबाट