१० पौष २०७७, शुक्रवार

पछिल्लो समय सेयर बजारमा चर्चाको विषय बनेको ब्रोकर कमिसन घटाउने मोडालिटीमा अन्तिम चरणमा पुगेको नियामक नेपाल धितोपत्र बोर्डले जनाएको छ ।बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बिहीबार नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)सँगको अन्तक्र्रियामा अङ्ग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातबाटै ब्रोकर कमिसन घटाउने तयारी भएको बताउनुभयो ।
मोडालिटीमा बोर्ड करिब अन्तिम चरणमा रहेको जनाउँदै अध्यक्ष ढुङ्गानाले उहाँले भन्नुभयो, “तर काम अझै बाँकी छ । प्राविधिक रूपमा पनि थुप्रै काम गर्न बाँकी छ । सम्भवतः अङ्ग्रेजी नयाँ वर्षदेखि हामी यो लागू गर्न सक्छौँ । ” ब्रोकर कमिसनका विषयमा बोर्डले धेरै अध्ययन र अनुसन्धानपछि मोडालिटी तयार गरिसकेको र अब दर मात्र तय गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

https://amzn.to/4myfPN5

“हालको स्लाबलाई घटाउने हो या बढाउने हो ? ब्रोकर कमिसनबाटै बजार सम्बद्ध निकायले बाँडेर कमिसन लिइरहेका छन्, त्यसलाई छ्ुट्टाछुट्टै बनाउने पो हो कि ? यी विषयमा पनि विचार गर्नुपर्ला,” उहाँले भन्नुभयो, “बजारले पछिल्लो समय गति लिइरहेको छ । प्राथमिकसँगै दोस्रो बजारमा पनि लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा नियामकले सोचेर निर्णय गर्नुपर्ने बेला आएको छ । ”

हाल धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन तिर्नुपर्दछ । लगानीकर्ताले ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०.६ प्रतिशत र ५० हजारदेखि पाँच लाख सम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै पाँच लाखदेखि २० लाख रुपियाँसम्मको कारोबारमा ०.५ प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ ।
यस्तै लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महिनाभित्र लाइसेन्स पाउने भएको छ । अध्यक्ष ढुङ्गानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने बताउनुभयो ।
पुँजी बजार विकास र विस्तारका लागि प्राविधिक सुधारदेखि नीतिगत सुधारलाई ध्यानमा राखी अघि बढेको बोर्डले बैङ्क इन्ट्रग्रेसन, ब्रोकरको टीएमएस सुधार र कम्पनीले बोर्डलाई रिपोर्टिङ गर्न कागजी प्रक्रियाको अन्त्य गर्ने प्रयासस्वरूप इलेक्ट्रोनिक रिपोर्टिङ सिस्टमको विकास गरिसकेकोसमेत उहाँले जानकारी दिनुभयो ।
सेयर बजार नयाँनयाँ रेकर्ड राख्ने बाटोमा अघि बढिरहेको भन्दै उहाँले धितोपत्र बजारको राम्रो विकास भइरहेको बताउनुभयो । सेयर बजारमा गत वर्षसम्म पुँजीकरणको ७–८ प्रतिशत कारोबार हुने गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो, “यसपालि २५ प्रतिशत पुगेको छ, यसलाई ४० प्रतिशत कटाउनु पर्नेछ । ”
बोर्डको चालू आवको नीति तथा कार्यक्रममा समेटिएका एक चौथाइ कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै अध्यक्ष ढुङ्गानाले लगानीकर्ताले धेरै ठाउँमा केवाईसी भर्ने झन्झटको अन्त्य गर्न ई–केवाईसीका लागि सीडीएससीलाई कार्यविधि बनाउन जिम्मा दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर