२० आषाढ २०७८, आइतवार
एजेन्सी – दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध पाँच टि२० आई सिरिज ३–२ ले जितेको छ ।
अन्तिम तथा निर्णायक पाँचौं खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली वेस्ट इन्डिजलाई २५ रनले हराउँदै टि२० सिरिज उपाधि जितेको हो ।
जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै १ सय ४३ रन बनाउन सक्यो । वेस्ट इन्डिजका ओपनर ईभिन लुईसले ३४ बलमा पाँच चौका र तीन छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए ।
शिम्रन हेटमायरले ३१ बलमा एक चौका र दुई छक्का सहित ३३ रन बनाए । विकेटकिपर निकोलस पुरन २०, कप्तान काइरन पोलार्ड १३ र क्रिस गेल ११ रनमा आउट भए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दक्षिण अफ्रिका तीव्र गतिका बलर लुन्गी एनगिडीले चार ओभरमा ३२ रन खर्चेर तीन विकेट लिए ।
कागिसो रबाडा र वियान मुल्डरले दुई दुई विकेट लिए । स्पिनर तबरेज शाम्सीले चार ओभरमा ११ रन खर्चेर एक विकेट लिए ।
त्यसअघि ग्रेनेडामा टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । दक्षिण अफ्रिका युवा ब्याट्सम्यान एडेन माक्ररमले ४८ बलमा तीन चौका र चार छक्का सहित सर्वाधिक ७० रनको योगदान दिए ।
आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदै विकेटकिपर तथा ओपनर क्विन्टन डि ककले ४२ बलमा चार चौका र दुई छक्का सहित ६० रन जोडे ।
डि ककले चौथो खेलमा ६० र तेस्रो खेलमा ७२ रनको इनिङ खेलेका थिए ।ओपनर तथा कप्तान टेम्बा बभुमा पहिलो ओभरको तेस्रो बलमै शून्यमा क्याच आउट भएका थिए ।
तर दोस्रो विकेटका लागि डि कक र माक्ररमले १ सय २८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । डेविड मिलर १६ बलमा एक चौका सहित १८ र वियान मुल्डर ९ रनमा अविजित रहे । रास्सी भान डर डुसेन एक रनमा आउट भए ।
वेस्ट इन्डिजका तीव्र गतिका बलर फिडेन एडवार्डसले तीन ओभरमा १९ रन खर्चेर दुई विकेट लिए । ड्वेन ब्राभो र ओबेद म्याककोयले एक एक विकेट लिए । माक्ररम प्लेयर अफ द म्याच र शाम्सी प्लेयर अफ द सिरिज चुनिए ।
पहिलो खेलमा दक्षिण अफ्रिका ८ वि
केटले पराजित भएको थियो । दोस्रो खेलमा १६ रन र तेस्रो खेलमा एक रनले विजयी भएको थियो । चौथो खेलमा भने दक्षिण अफ्रिका २१ रनले पराजित भएको थियो ।
वेस्ट इन्डिजले अव अष्ट्रेलियासँग घरेलु मैदानमा पाँच टि२० आई र तीन ओडिआई खेलको सिरिज खेल्ने छ । पहिलो टि२० आई खेल आगमी शनिवार हुने छ । दक्षिण अफ्रिकाले आयरल्यान्डसँग समान तीन ओडिआई र तीन टि२० आई सिरिज खेल्ने छ । पहिलो ओडिआई खेल आइतबार हुने छ ।