
८ पौष २०७७, बुधवार
आगामी पौष ११ गतेबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि इलामका ३ सहित प्रदेश नं. १ ले पहिलो चरणमा १९ जना खेलाडी छनोट गरेको छ । दाङको लमहीमा हुने प्रतियोगिताको लागि झापा, मोरङ र इलाममा रहेका महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा गराएर पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको हो ।
इलामकी संगम तामाङ, जमुना कार्की र पायल मगरले १९ भित्र स्थान बनाउन सफल भए । छनोटमा परेका १९ जनामध्ये सबैभन्दा बढी झापाका १२ जना र मोरङका ४ जना रहेका छन् । झापाबाट छनोट हुनेमा राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षत्री, काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता बेगम, सबनम राई, ज्योति दनुवार, ङिमा शेर्पा, निशा साह, लकिता राजवंशी, एलिसा खडिया र स्मृति कटुवाल छन् । मोरङबाट टिका साह, सलिना तामाङ, अंशु जैसवाल र भिमा कुँवर रहेकी छन् । उनीहरु अहिले क्लोज क्याम्पमा प्रशिक्षण गरिरहेका छन् ।