ओए हिरो ! के चाहिएको छ ? दिदीको म्यासेज थियो विदेशबाट । यत्ति आइसकेपछि मनभित्रको द्रव्यप्रतिको मोह जागि हाल्ने भो । अझ भनौ भुइँमा खुट्टा हुने कुरै थिएन । आखिर मन त मन नै हो नि । के मगाऊं ! अब मन उपहार के मगाउने भन्ने दोसाँधमा रोमलिन थाल्यो । तर मनको वेग वग्दा वग्दै थाहै नदिइ बाल्यकालका तिहारमा पुगेछ । जहाँ दिदीहरु भाइलाई सरप्राइज दिन लुकेर उपहार किन्न जान्थे र उनीहरुको खोजीमा भाइ सिङ्गो बजार भौतारिने गर्थ्यो । अब त के नै पो मगाउनु थियो र ?

मिल्थ्यो भने म दिदीलाई नै सधैँको लागि माइतीघर फर्काउँथे ।


खै यो कस्तो नियति हो ? जहाँ गुमाइ सकेपछि मात्रै महत्व झल्किएर आउने । दोष पनि कसलाई दिएर उम्कने ? भाग्यलाई ? समयलाई ? नियतिलाई ? लाचार मान्छेको सामु अर्को विकल्प नै पनि के छ र फेरि ? जे होस् ! मनभित्र अनेकन विचारहरु यसैगरी नै चिप्लेटी खेलिरहन्छन् । मन र भावनाले मात्रै पनि कहाँ चल्छ र सृष्टि ? अन्त्यमा समयको गतिशीलतालाई अँगालेर जसो अघि बढ्नु पर्छ । मान्छे अतीतको जिन्दगीलाई हृदयको बन्द कोठामा स्मृतिको रुपमा सजाएर न भविष्यको बाटो पहिल्याउँछ ।

“को नै पो होला र आफ्नै विगतप्रति फर्किएर नोस्टाल्जिक नबन्ने ? त्यसैले त भन्ने गरिन्छ, अतीत जस्तोसुकै किन नहोस् – प्रिय हुन्छ । आज चाहिँ प्रिय अतीत वर्तमानको यथार्थसँग ठोकिएर तितो नतिजा उत्पादन गरिरहेछ । चारवटी दिदीहरुको एक्लो भाइले सबै दिदीहरुको हातबाट सँगै टीका नथापेको पनि पाँच वर्ष पूरा भएछ । पहिले पहिले देउसी-भैलो खेल्ने र उपहार पाइने आशामा तिहार मन पर्थ्यो । अहिले भने भाइ सम्झेर घरजम गरेका र भविष्य निर्माणको शिलशिलामा टाढा रहेका दिदी-बहिनीहरु घर आउँछन् भन्ने आशमा तिहार मन पर्छ । पर्व उही तर समयको वेगसँगै फरक फरक महत्व बोकेरे आएको छ ।”

कुनै पनि सम्बन्धको महत्व व्यक्ति पिच्छे फरक हुन्छ । सम्बन्धको महत्व व्यक्तिको व्यक्तित्व, भोगाइ र अनुभवले निर्धारण गरेको हुन्छ । दिदीभाइ-दाजु-बहिनीको सम्बन्धमा जिन्दगीका हर आयाम भेट्न सकिन्छ- माया,प्रेम,स्नेह,ममता,साथ,रिस,राग, प्रतिशोध, लोभ………..आदि सबै सबै । त्यसैले होला यी सम्बन्धहरु अरु सबै सम्बन्धहरुभन्दा फरक छन्, विशेष छन्, अपरिहार्य छन् । म जिन्दगीलाई हर आयामबाट जिउनुपर्छ भन्ने मान्यता राख्छु,त्यसमा पनि अझ विशेष बाल्यकालमा; कथा र परिवेशले जे माग्छ,त्यही बनिदेउ ताकि पछि कुनै कुराको अनुभव गर्नका लागि छुट्टै कुनै पुँजी खर्चिनु नपरोस् । फेरि स-सानै कुराले न जिन्दगीलाई जिन्दगी बनाउँछ । यी यस्तै मान्यताहरुले होला ? दिदीहरुसँग बिताएका पलहरु भलै सामान्य देखिऊन्, मेरो जीवनमा सर्वाधिक महत्व राख्छन् ।

“टिभीको रिमोटका लागि दिदीसँग लड्दै गर्दा होस् या दिदीलाई अन्माउँदै गर्दा होस्, जीवनको गहिरो बोध मैले यी दुई बिन्दुमा गरेको छु । पहिलो दिदीहरु अर्थात नारीहरु कोमल हृदयले बनेका हुने रहेछन् । दोस्रो आत्मियता त्यहीँ प्रबल हुने रहेछ जहाँ प्रेम र रिस एकसाथ पोखियोस् । लाग्छ एउटा भाइले आमापछिको न्यायो काख दिदीमा र बहिनीले बुवापछिको न्यानो सुरक्षा दाइमा पाउँछन् ।”

कलारा ओर्टेगाको प्रसिद्ध भनाइ छ “बाहिरी दुनियाका लागि हामी(दाजुभाइ-दिदीबहिनी) बुढा हुन सक्छौं तर एकअर्काका लागि होइन । जब हामी भेट्छौं, एकअर्काको हृदयलाई पढ्छौं, पारिवारिक रहस्य खोल्छौं र समयको प्रभाव वेगर बस्छौं ।” फर्किएर समय नआएपनि यादहरु बारम्बार आएर हिर्काउने काम गरिरहन्छन् । सानोमा लड्दा सबै दोष दिदी कै छ जस्तो लाग्थ्यो तर दिदीको जल खाँदै गर्दाको क्षणमा यो हृदयले त्यी सबै दोष आफ्नो भएको बोध गरेको हो । देखिंदा जे देखिए पनि वा भौतिक रुपमा जे उपस्थिति रहेपनि आखिर मान्छे भावनाकै वेगमा अविरल इन्द्रावती बगे जस्तो बगिरहँदो रहेछ । कम्तिमा इन्द्रावतीको त गन्तव्य छ समुन्द्र चुम्ने तर खै भावना केवल बग्छ मात्रै । रंगीन चाड, बेरंगी मौसममा भित्रिएको छ । नवीन उत्साह र उत्सवको सम्प्रेषण हुनुपर्ने , कुनाकुनामा दीप बल्नुपर्ने,लाखौको संख्यामा काम र मामका लागि मुग्लान पसेका दाजु-भाइहरुको आगमनको प्रतिक्षामा सयपत्री फुलाएर बसेका चेलीहरुको मन चंगा हुनुपर्ने तर डर, त्रास बलिरहेछ । पूर्वीय दर्शनमा नारी शक्तिको विशेष स्थान छ, आश गरौँ चेलीहरुले यसपटक दाजुभाइका शत्रुसँगसँगै कोभिड-१९ (कोरोना भाइरस)लाई पनि परास्त पार्नेछन् ।

(लेखक- गौरव पाण्डे ,कालीगण्डकी-७,मिर्मी,स्याङ्जा )

                                                                                                                                                                  

                                                                                                                                                                                        

प्रतिक्रिया

सम्बन्धित खवर