८ पौष २०७७, बुधवार

लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम हुँदै गएको  कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । सुन्तला खेतीमा भविष्य देखेका र बनाउँदै गरेका किसान कीरा र रोगका कारण आम्दानी घटेकामा निराश तथा चिन्तित बनेका छन् ।

कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी गर्नेमध्येमा एक बेँसीशहर नगरपालिका वडा नं. ११ चिती स्याउतका किसान भगवती पन्त  सुन्तला बिक्रीबाट वार्षिक रु ६ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्थ्यो ।  अचानक केही वर्षदेखि भने सुन्तला बगैँचामा कीरा लाग्ने र बोट सुक्दै जाने भएकाले कम फल्दै आएको छ । यस वर्ष त मुश्किलले रु दुई लाख मात्रै आम्दानी गरिएको उहाँले बताउनुभयो । उहाँ जस्तै जिल्लाका अधिकांश सुन्तला किसानको समस्या उस्तै छ ।

लटरम्मै फल दिँदै राम्रो आम्दानीको स्रोत बन्दै आएको ती सुन्तलाका बोटले फल दिन नसक्दा साविक जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादनमा कम हुँदै गएको छ । स्याउतका किसानले वर्षेनी करीब रु दुई करोड आम्दानी गर्ने गरे पनि सुन्तलामा आएको विविध समस्याका कारण ६ वर्षदेखि भने रु १४,१५ लाख मात्र आम्दानी हुने गरेको किसानको भनाइ छ । विगतमा यहाँका सुन्तला राम्रो हुँदा व्यापारीले बोटमै आएर लैजाने गर्थे । त्यस्तै विगत वर्षमा जिल्लाकै राम्रो उत्पादन तथा आम्दानी गर्ने बगैँचाका रुपमा चिनिँदै आएका कुन्छा, भोर्लेटार, चिती, दुराडाँडा, राइनास, गाउँशहर, भोजे, उदिपुर क्षेत्रलगायत ठाउँमा समेत उत्पादनमा कमी हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार यस वर्ष ३०२ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट एक हजार ४२४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ४७१ मेट्रिक टन सुन्तला उत्पादनमा कमी आएको छ ।

गत वर्ष जिल्लामा २८५ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट एक हजार ८९५ मेट्रिक टन उत्पादन भएको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७४÷२०७५ मा ४९३ क्षेक्रफलबाट तीन हजार ९९३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३÷२०७४ मा पाँच हजार २७४ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्यांकमा छ ।

जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत शहरमा राम्रो खपत हुने गरे पनि उत्पादनमा कमी हुँदा किसान निराश भएका छन् । लमजुङमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिए पनि पाँच सय हेक्टर क्षेत्रफलमा मात्र सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । यतिबेला जिल्लामा उत्पादन कम भएपछि बाहिरी जिल्लाबाट ल्याइएका सुन्तला प्रतिकिलो रु १५० देखि १८० सम्म तिरेर उपभोक्त्ताले खरीद गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर