काठमाडौं, २८ मंसिर । उखु किसानहरुले आजदेखि काठमाडौंमा आन्दोलन थालेका छन् । सरकार र ऊखु किसानबीच सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा पनि रकम भुक्तानी नपाएपछि देशभरका उखु किसानहरु काठमाडौं आएका हुन् ।

गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच ५ बुँदे सहमति भएकोमा हालसम्म पनि बक्यौता रहेपछि किसानहरुले फेरि आन्दोलन थालेका हुन् । उनीहरूले  माग पूरा नभएसम्म आन्दोलन नरोकिने अडान लिएका छन् ।

गत वर्षकाे माघ ७ गतेभित्र किसानलाई उखुको सबै भुक्तानी मिलहरुले दिइसक्ने सरकार र उखु किसानबीच सहमति भएकाे थियाे । तर एक वर्ष वित्न लाग्दा पनि उखु किसानहरूले भुक्तानी नपाएपछि सरकार र उखु किसानबीच पुन: आन्दोलित भएका हुन् । माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

जिल्लामा पटक पटक आन्दोलन गरेपनि सम्झौता अनुसार रकम प्राप्त गर्न नसकेपछि किसानहरुले कात्तिक २३ गते उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टसँग भेटेर ज्ञापनपत्र समेत बुझाएका थिए ।

छठसम्म बक्यौता रकमको भुक्तानी नभए मंसिर २७ गतेदेखि आन्दोलन गर्ने कुरा ज्ञापनपत्रमै उल्लेख थियो । जसअनुसार आन्दोलन शुरु भएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताउनुभयाे ।

किसानलाई विभिन्न चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । देशभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटाले भुक्तानी नदिएको किसानहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर