एजेन्सी, २८ मंसिर ।अमेरिकामा भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन सुरु गरिने बीबीसीले जनाएको छ । खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइँदैछ ।

पहिलो चरणमा सबै राज्यका ३० लाख अमेरिकीले भ्याक्सिन लगाउनेछन् । फाइजरको कोरोना भ्याक्सिन ९५ प्रतिशत सफल भएको दाबी गरिएको छ । फाइजरको भ्याक्सिनलाई मञ्जुरी दिन अमेरिकालाई निकै दबाब थियो ।

अमेरिकाको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए)का प्रमुख स्टिफन हानले आफूले कि फाइजरको भ्याक्सिनलाई अनुमति दिने या राजीनामा दिने बताएका थिए । एफडीएका विशेषज्ञले पनि यो भ्याक्सिनको पक्षमा वकालत गरेका थिए ।

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र पुग्नेछ ।

कोरोना संक्रमण र मृत्युका हिसाबले अमेरिका विश्वमै पहिलो नम्बरमा छ। त्यहाँ अहिलेसम्म १ करोड ६२ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। संक्रमित र मृतकको संख्या अहिले पनि रोकिएको छैन ।

फाइजरको कोरोना भ्याक्सिनलाई बेलायत, क्यानाडा, बहराइन र साउदी अरबले पनि अनुमति दिइसकेका छन्। बेलायतमा त भ्याक्सिन लगाउन सुरु पनि भइसकेको छ ।

फाइजरले भारतमा पनि भ्याक्सिनेसनको लागि अनुमति मागेको छ। यो भ्याक्सिन दुई डोज दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर