
अमेरिकास्थित क्यालिफोर्निया राज्यमा कोभिड-१९ संक्रमण रोकथामका लागि रात्रीकालीन कर्फ्यु लगाउने भएको छ। अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलन थालेपछि यहाँ कर्फ्यु शुरु गर्न लागिएको हो।
क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसोमले कर्फ्युको घोषणा गरेका हुन्। बीबीसीका अनुसार यहाँ राति १० बजेबाट बिहान ५ बजेसम्म कर्फ्यु लाग्ने छ।
शनिवारबाट यो नियम लागू हुनेछ। अमेरिमामा मे महिना यता दैनिक दुई हजारको हाराहारीमा कोरोना संक्रमितको मृत्यु हुन थालेको छ। जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा हालसम्म एक करोड २० लाख बढी मानिसलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यसैगरी दुई लाख ५५ हजार जना बढीको संक्रमणकै कारण मृत्यु भएको छ।
क्यालिफोर्नियामा पनि कोरोना संक्रमण तीव्र फैलिँदै छ।