
०६,मङ्सिर
सि .पि.राजबन्शी
बिराटनगर
छठ पर्वको विधिवत समापन भएको छ । छठ पर्वका बर्तालुले आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको विधिवत अन्त्य गरेका हुन् । तिन दिन सम्म मनाईने छठ पर्वमा बर्तालुले सुर्य भगवानको पुजा आराधना गर्ने गर्छन् । हिजो साँझ बर्तालुले अस्ताउँदो सुर्यलाई पुजा आराधना गरेका थिए ।
तराईमा धुमधामपूर्वम मनाईने छठ आजभोली पहाडी क्षेत्र र समुदायमा पनि फैलँदो छ । काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरु जोडिएका पहाडी जिल्लाहरुमा समेत छठ पर्व धुमधामले मनाइने गरेको छ ।
चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी छठ समापन गर्ने परम्परा छ ।
छठका व्रतालुहरु आज विहान सूर्योदयसँगै नजिकका खोला किनारा, तलाउहरुमा गएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य दिने गर्छन् ।
छठ पर्वमा सुर्यको उपासना गर्दा अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतकका रुपमा लिइन्छ ।
तराईका ठूलो शहर विराटनगर, विरगञ्ज, राजविराज, नेपालगञ्ज, भैरहवा, सौराहा आदी क्षेत्रमा छठ पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास छ ।
विगतमा स्थानीय नदी, तलाउमा विशेष साजसज्जाका साथ छठ पर्व मनाइने गरिन्थ्यो । कोरोना कहरका कारण यसपटक ब्रतालुले आ–आफ्ना घर अगाडी पानी जमाएर छठ पर्व मनाएका छन ।