
५ कार्तिक २०७७ पाल्पा । पाल्पामा एक कोरोना संक्रमितको निधन भएको छ । यो संगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा वगनासकाली गाउँपालिका–७ का ७८ वर्षीय वृद्धको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार कार्तिक १ गते कोरोना पोजेटिभ देखिएका वृद्धको बुधबार मृत्यु भएको हो ।
बुधबारमात्र पाल्पामा थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरुमा तानसेन नगरपालिकाका १७ जना, पूर्वखोलाका १ जना, रिब्दीकोट गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका २ जना र माथागढी गाउँपालिकाका ५ जना गरी २७ जनामा रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
हालसम्म पाल्पा जिल्लामा संक्रमितको संख्या १ हजार ४१ पुगेको छ । पाल्पामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ६४ पुगेको छ, भने ७ सय ७० जना निको भएर घर डिस्चार्ज भएका छन् ।
उनीहरु सबै होम आइसोलेसन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा पाल्पामा समुदायस्तरमा समेत कोरोना फैलिएको छ ।