
एजेन्सी, ३ कात्तिक २०७७ इरानमा पुनः कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।इरानमा एकैदिनमा अहिलेसम्मकै सवै भन्दा धेरै सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार इरानमा कोरोनाका कारण एकैदिनमा ३३७ जनाको मृत्यु भएको छ ।
इरानमा यसअघि एकैदिनमा २७९ जनाको कोरोनाका कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयसँग रहेको थियो । मन्त्रालयले पछिल्लो एकैदिनमा इरानमा चार हजार २५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको पनि जनाएको छ । योसँगै इरानमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या पाँच लाख ३५ हजार ६३० पुगेको छ ।
मुस्लीम गणतन्त्रात्मक मुलुक इरानमा कोरोनाभाइरसको महामारीको शुरुवाती चरणमा पनि धेरै असर परेको थियो । प्रारम्भीक समयमा इरानलाई कोरोनाको केन्द्रविन्दु नै मानिएको थियो । मध्यपूर्वी देशहरु मध्ये इरान कोरोनाबाट धेरै प्रभावित देशमा पर्दछ भने मध्यपूर्वमा हप्तामा तीस हजार जनासम्मको कोरोनाका कारण मृत्यु हुने गरेको थियो ।
सरकारले कडा लकडाउन लागु गरेपछि केही कमी आएको थियो । कोरोना महामारीका कारण इरानको मानवीय अवस्था, आर्थिक अवस्थालगायतमा ठूलो क्षति भएको छ ।