२६ असोज २०७७, सोमवार

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा फ्रान्स पोर्चुगालले बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको केही अवसर पाएपनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

स्टेड डि फ्रान्समा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली पोर्चुगलले खेलको २४औं मिनेटमा पोस्ट आक्रमण बुनेपनि सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट चुक्यो । बर्नाडो सिल्भाको पासमा कप्तान रोनाल्डोको प्रहारलाई फ्रान्सका डिफेन्डर लुकास हर्नान्डेजले ब्लक गर्दै पोर्चुगलको सम्भावित अग्रता टारे ।

३६औं मिनेटमा जोआओ फेलिक्सको फ्रिकिकलाई रोनाल्डोले भेट्न सकेन । ४४औं मिनेटमा घरेलु टोलीका ओलिभर जिरुउडले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

४७औं मिनेटमा केलिएन एमबाप्पेको प्रहारलाई पोर्चुगलका गोलरक्षक रुई प्याट्रिसियोले सहजै नियन्त्रणमा लिए । ५०औं मिनेटमा रोनाल्डोको क्रस पोस्टनजिकैबाट थोरै बाहिरियो । ७३औं मिनेटमा पेपेको हेडरलाई फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले बचाएपनि पेपे शुरुमै अफसाइड देखिएको थियो । त्यसपछि पनि गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा टुगिंयो ।

यो बराबरीसँगै पोर्चुगल ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थनमा यथावत रहँदा समान ७ अंक रहेपनि गोल अन्तरमा फ्रान्स दोस्रो स्थानमा रहेको छ ।

यही लिग ‘ए’ ३ को अर्काे खेलमा क्रोएसियाले स्वीडेनमामाथि २–१ को जित निकालेको छ । क्रोएसियाको जितमा निकोला भ्लासिक र एन्डरेज क्रामारिकले गोल गर्दा स्वीडेनका मार्कुस वर्गले एक गोल फर्काएका थिए ।

जितसँगै क्रोएसियाले समूहका ३ अंक जोडेको छ । स्वीडेनले अंकको खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर