अभिनेता अनमोल केसीसँग स्क्रिन शेयर गरेपछि फिल्म असफल भए पनि अभिनेत्रीको करिअरले गति लिने विश्वास धेरैमा छ । यसको एक उदाहरण हुन्, उपासना सिंह ठकुरी । उनले अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्ममा अर्की अभिनेत्री पनि थिइन्, प्रियंका एमभी । तर, फिल्ममा उपासनाको कामलाई दर्शक तथा समीक्षकले रुचाए ।
‘क्याप्टेन’ घरेलु बजारबाट लगानी उठाउन असफल भएको थियो । तर, त्यसको असर उपासनाको करिअरमा परेन । यो फिल्मको गीत र ट्रेलर सार्वजनिक भएदेखि नै उनलाई नयाँ फिल्मबाट अफर आउन थालेको थियो । र, ‘क्याप्टेन’ रिलिजको केही हप्तामा उनी ‘कबड्डी’ को तेस्रो सिरिजमा अनुबन्ध भइन् । यो फिल्मले भने उनलाई अभिनयको प्रशंसासँगै हिटको सुख पनि दियो ।
‘कबड्डी कबड्डी कबड्डी’ पछि उनले फिल्मका कारण रोकिएको अध्ययन पूरा गर्न ६ महिना विश्राम लिने घोषणा गरिन् । तर, कोरोनाका कारण न उनको अध्ययन पूरा हुन सक्यो न नयाँ फिल्ममा नै काम गर्न पाइन् । अब उनी स्थिति सामान्य भएपछि कुनै एक प्रोजेक्टमा आबद्ध हुने सोचमा छिन् । लकडाउनमा अफर भएका केही फिल्मको स्क्रिप्ट राम्रो लागेको उनी बताउँछिन् ।
शुक्रवार एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएपछि उनले लकडाउनमा आफूलाई अफर आएका आठ-नौवटा फिल्ममध्ये एक-दुईवटाको कन्सेप्ट राम्रो लागेको बताएकी छन् । उनले सञ्चारकर्मीसँग भनिन्, ‘लकडाउनमा अफर भएका फिल्ममध्ये एक-दुईवटा फिल्मको वानलाइन स्टोरी मन परेको छ । स्थिति सामान्य भएपछि कुनै एउटा फिल्म गर्न सक्छु ।’
आफूले फिल्म छनौट गर्दा पहिलो प्राथमिकतामा स्क्रिप्ट रहने उनी बताउँछिन् । तर, फिल्म गर्ने निर्णय लिनुभन्दा अगाडि स्क्रिप्टसँगै ब्यानर र टिम पनि हेर्नुपर्ने उनको भनाई छ । उनलाई लकडाउनमा म्यूजिक भिडियोबाट समेत अफर आएको रहेछ । यद्यपि, उनी तत्काल म्यूजिक भिडियोमा काम गर्ने सोचमा छैनन् । अहिले आफ्नो पहिलो प्राथमिकता फिल्म रहेको उपासनाको कथन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर