२० असाेज २०७७, बुटवल प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्ताव पारित भएको असोज २० गतेलाई कालो दिनका रुपमा मनाउने नेपाली कांग्रेस रुपन्देहीले निर्णय गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीले विज्ञप्ति निकालेर राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गरेको हो ।
सभापति अब्दुल रज्जाकले निकालेको विज्ञप्तिमा मंगलबार साँझ ७ बजेदेखि आधा घण्टा घरका बत्ती निभाएर विरोध जनाउन अपिल गरेका छन् । विज्ञप्तिमा व्यापक विरोध र जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चँदै सरकारले दुई तिहाईको दम्भले गलत निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राजधानी सार्ने निर्णय गर्ने पार्टी र सरकार तथा यसका पक्षधरहरुविरुद्ध उपयुक्त मूल्याङ्कन हुने पनि विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले रुपन्देहीलाई राजधानी कायम गर्न निरन्तर आन्दोलन चलाउने र आफ्नो पार्टीको बहुमत पुगेका वेला रुपन्देही बनाउने दावी समेत विज्ञप्तिमा उल्लेख छ ।