१८ असाेज २०७७, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव भइसकेको छ। प्रदेश ५ स्थित नेकपा संसदीय दलले दाङको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप नै जारी गरेको छ।

अध्यक्षद्वयबीच प्रदेश राजधानी दाङ सार्न सहमति बनेपछि महासचिव विष्णु पौडेल असन्तुष्ट बनेका छन्। उनले गत निर्वाचनमा बुटवलमा राजधानी राख्‍ने पक्षमा आफूलाई उभ्याएका थिए। बुटवल राजधानी राख्‍ने कुरामा कांग्रेससहितका दल नमानेको भन्दै उनले नेकपालाई भोट दिन भनेका थिए। उनको चुनावी एजेन्डा नै थियो प्रदेश ५ को राजधानी बुटवल।

चुनावी प्रतिवद्धता अनुसार बुटवललाई प्रदेश राजधानी राख्‍ने अडानमा महासचिव पौडेल कायमै रहेको उनका स्वकीय याम पाण्डे बताउँछन्।

‘उहाँको चुनावी प्रतिवद्धता अनुसार अडान फेरिएको छैन। अहिले पनि उहाँ बुटवलकै पक्षमा हुनुहुन्छ’, उनले भने, ‘सबैलाई सेवा सुविधाको लागि पायक पर्ने हिसाबले पनि बुटवलकै हुन्छ।’

अध्यक्षद्वय दाङको पक्षमा उभिएपछि महासचिव पौडेल पार्टी सचिवालयमा पनि एक्लो भएका छन्। ‘अध्यक्षद्वयबीच दाङकै लागि सहमति बनिसकेको छ। सचिवालयमा पनि उहाँ एक्लै बुटवलको पक्षमा देखिनुभएको छ,’ उनले भने, ‘पार्टीको सहमति बनिसके पनि राजधानी तोक्ने मुख्य जिम्मेवारी प्रदेशसभाको हातमा हुन्छ।’

प्रदेश ५ का इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलको प्रस्तावमा अध्यक्षद्वय प्रदेश राजधानी दाङमा राख्‍न सहमत भएका थिए। दाङ मुख्यमन्त्री पोखरेलको गृहजिल्ला पनि हो। महासचिव पौडेल र मुख्यमन्त्री पोखरेल प्रधानमन्त्री ओलीनिकट नेता हुन्। प्रदेश राजधानीको हकमा पार्टीमा शक्तिशाली पौडेललाई मुख्यमन्त्री पोखरेलले पछारेका छन्।

प्रदेश ५ को राजधानी दाङ कायम गर्न नेकपा प्रदेश संसदीय दलको बैठकले आन्तरिक परिपत्र जारी गरिसकेको छ। राजधानी दाङको देउखुरी सार्ने प्रस्तावको विरोधमा आइतबार पनि बुटवल प्रदर्शन भएको छ। नेपाली कांग्रेस र रुपन्देहीका विभिन्‍न संघसंस्थाहरूले बिहानैदेखि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।

अस्थायी राजधानी बुटवलबाट देउखुरी सार्ने प्रस्ताव प्रदेशसभामा अघि बढेपछि प्रदर्शन सुरु भएको हो। प्रदर्शन नियन्त्रणबाहिर जान नदिन रुपन्देही प्रशासनले गरेको निषेधाज्ञा जारी गरेको छ। प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्‍ने प्रस्ताव प्रदेशसभामा पेस भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर