१७ असाेज २०७७, बुटवल-प्रदेश ५ को स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ।

बैठकमा रुपन्देही र पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका छन्। बैठकमा कपिलवस्तुका सांसदहरुले भने कपिलवस्तुलाई राजधानी बनाउनुपर्ने धारणा राखेका थिए।

रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको बताए। रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमति जनाउदै आफ्ना भनाइ राखेका थिए। कपिलवस्तुका सांसदले कपिलवस्तु नै राजधानी उपर्युक्त रहेको बताएका छन्।

सांसद विष्णु पन्थीले कपिलवस्तु राजधानी हुनुपर्ने मत राखेका छन्।  बैठकमा अर्घाखाँची र गुल्मीका सांसद विपक्षमा रहेनन्। प्युठान, रोल्पा, रुकुमका सांसदले बैठकमा सरकारको निर्णयको समर्थन गरेका छन्।

सांसदहरुले आफ्ना धारणा राखेपछि दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टी निर्णय विपरीत नजान निर्देशन दिएका छन्। उनले पार्टीले सदनमा पेश गरेको प्रस्तावलाई पास गराउनका लागि सांसदहरुलाई आग्रह गरे।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका हुन्।

‘दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदिले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गर्दछु’-केसीले प्रस्ताव गर्दै भने।

प्रतिक्रिया

सम्बन्धित खवर