११ असोज २०७७, आइतवार
इटालियन सिरी एमा इन्टर मिलानले विजयी सुरुवात गरेको छ । अन्तिम समयको गोलको मद्दतमा सिजनको पहिलो खेलमा इन्टर मिलानको संघर्षपूर्ण जीत हात पारेको हो ।
लिग अन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले फियोरेन्टिनालाई ४–३ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा कोउएमीको गोलबाट फियोरेन्टिनाले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई बराबरीमा ल्याए ।
दोस्रो हाफमा फियोरेन्टिनाका लागि कास्ट्रोभिलीले ५७ औँ तथा चिएसाले ६३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
तर इन्टर मिलानका लागि रोमेलु लुकाकुले ८७ औँ तथा डी’एमब्रोसिओले ८९ औं मिनेटमा गोल गर्दै जीत दिलाए । ५२ औँ मिनेटमा फियोरेन्टिनाका चेचेरिनीले आत्मघाती गोल गरेका थिए । गएराति नै भएका अन्य खेलमा एट्लान्टाले टोरिनोलाई ४–२, लाजिओले काग्लिएरीलाई २–० तथा बेनेभेन्तोले साम्पडोरियालाई ३–२ ले पराजित गरेको छ ।