१६ भाद्र २०७७, मंगलवार
अष्ट्रेलियाका लेग स्पिनर एडम जम्पालाई रोयल च्यालेन्जर्स बेंगलोर यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि टोलीमा अनुबन्ध गरेको छ ।
अष्ट्रेलियाका तीव्र गतिका बलर केन रिचर्ड्सनले ब्यक्तिगत कारण आइपिएल गुमाउने भएपछि बेंगलोरले जम्पालाई भित्र्याएको हो । हाल जम्पा र रिचर्ड्सन इंग्ल्यान्डविरुद्ध समान तीन ओडिआई र टि२० आई सिरिजको लागि साउथह्याप्टनमा छन् । रिचर्ड्सन पहिलो सन्तानको पिता बन्न लागेको हुँदा आइपिएल नखेल्ने भएका हुन् ।
जम्पाको आगमनले बेंगलोरको स्पिन आक्रामक बलियो बन्ने छ । संयुक्त अरव इमिरेट्स (यूएई) का पिच पनि स्पिनरलाई सहयोगी मानिन्छ । जम्पासँगै बेंगलोरमा स्पिनरको रुपमा भारतीय युजभेन्द्र चहल, वासिन्टन सुन्दर, पवन नेगी र इंग्ल्यान्डका मोईन अली छन् । जम्पा गतवर्ष पुषमा भएको आइपिएल अक्सनमा बिकेका थिएनन् । जम्पाले उक्त अक्सनमा आफ्नो न्युनतम मूल्य १ करोड ५० लाख भारतीय रुपैयाँ तोकेका थिए ।
जम्पाले २०१९-२० को बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट १२ खेलमा २० विकेट लिदै उत्कृष्ट प्रर्दशन गरेका थिए । विराट कोहली कप्तान रहेको बेंगलोर पहिलो पटक उपाधि जित्ने सोचमा छ । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको टि२० आई र ओडिआई सिरिज सेप्टेम्बर १६ मा सकिने छ ।
आइपिएल उक्त सिरिज सकिएको तीन दिनपछि अर्थात सेप्टेम्बर १९ देखि सुरु हुने छ । जसको कारण इंग्ल्यान्ड भ्रमणमा रहेका बेंगलोरका जम्पासँगै ओपनर आरोन फिन्च र युवा विकेटकिपर जोश फिलिपेले सुरुवाती खेल गुमाउने छन्