
देशव्यापी रूपमै फैलिएको जेन-जी को आन्दोलनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई कड़ा सन्देश दिएको छ। सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको पोस्टहरूमार्फत आन्दोलनमा सहभागी युवाहरूले बालेनलाई आज मंगलबार दिउँसो २ बजेसम्मको अल्टिमेटम दिएका छन्।
आन्दोलनमा रहेका युवाहरूले लेखेका छन्,
“डियर बालेन, दिउँसो २ बजेसम्म तिमी हामीसँग हुन सक्छौं भने आउ, नेतृत्व गर। नभए याद राख, तिमी पनि हाम्रो नेता कहिल्यै हुन सकेनौ।”
केही समयदेखि सामाजिक सञ्जालमा ‘बालेन अब जनताको नेता बन्न सक्छन्’ भन्ने बहस चलिरहेको बेला आन्दोलनकारीहरूले स्पष्ट सन्देश दिँदै भनेका छन् कि, यदि उनी साँच्चिकै जनपक्षीय नेता हुन् भने सडकमा उभिनुपर्ने यो बेला पछि नहटून्।
आन्दोलनकारीहरूको भनाइ अनुसार दिउँसो २ बजेसम्म बालेन नआएमा उनीप्रति जनविश्वास समाप्त हुने र आन्दोलनकारीहरूसँग कुनै राजनीतिक वा नैतिक सम्बन्ध रहने छैन।
यो घटनाले जनप्रतिनिधिहरूले जनताको पक्षमा स्पष्ट र सार्वजनिक रूपमा उभिनुपर्ने दबाब थप बलियो बनाएको छ। अब बालेनको निर्णयले मात्र होइन, उनको मौनताले पनि उनको राजनीतिमा भावी भूमिका निर्धारण गर्ने देखिएको छ।