
काठमाडौँ — सावित्रा भण्डारी दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट स्ट्राइकर हुन् । अब उनको बायोडाटामा एउटा अर्को बलियो विवरण थपिनेछ । त्यो हो, अस्ट्रेलियाली माथिल्लो डिभिजनको महिला फुटबल खेल्ने खेलाडी । सावित्राले चाँडै त्यहाँको ‘ए’ लिग खेल्नेछिन् ।
उनको नयाँ गन्तव्य हुनेछ, वेलिङ्टन फिनिक्स । न्युजिल्यान्डको यो क्लबले बडो जोडदार तरिकाले सावित्रासँग दुई वर्षको अनुबन्धन घोषणा गरेको छ ।
क्लबले ‘साम्बा’ नामले बढी चिनिने यी नेपाली खेलाडीलाई सक्दो बढी महत्त्व दिन खोजेको छ । क्लबको सामाजिक सञ्जालमा सावित्राले भनेकी छन्, ‘म असाध्यै उत्साही छु फिनिक्सबाट खेल्न पाउने भएपछि । म धेरैभन्दा धेरै गोल गर्न चाहन्छु र समर्थकलाई खुसी बनाउन चाहन्छु ।’ यो क्लब हो, न्युजिल्यान्डको वेलिङ्टन । तर यसले खेल्ने भनेको अस्ट्रेलियामा हो । अस्ट्रेलियाको माथिल्लो डिभिजनको महिला फुटबल आफैंमा बलियो छ ।
अझ त्योभन्दा पनि ठूलो तथ्य के भने यो न्युजिल्यान्डको एक मात्र त्यस्तो क्लब हो, जसले देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय महिला फुटबल खेल्ने गर्छ । यता ‘साम्बा’ भने अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछिन् ।
यसअघि नै उनी युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । उनले त्यसअघि इजरायलमा खेलेकी थिइन्, त्यसपछि फ्रान्स गएकी हुन् । नेपाल छँदा एपीएफ क्लबका लागि खेल्ने सावित्राले भारतमा पनि व्यावसायिक लिग खेलेकी थिइन् । नेपालका लागि ६० खेल खेलेर उनले ६६ गोल गरेकी छन् । यो पनि आफैंमा अर्को कीर्तिमान हो । उनले भर्खरै उज्वेकिस्तानको तास्केन्दमा भएको एएफसी महिला एसियन कप छनोटमा नेपाली टिमको कप्तानी पनि गरेकी थिइन् । उनी नेपाली महिला राष्ट्रिय टिमको नेतृत्व गर्ने १३ औं कप्तान हुन् ।
त्यहाँ छनोटका तीन खेलमा उनले ९ गोल गरेकी थिइन् । त्यसमा दुई ह्याट्रिक समावेश थियो । साम्बा त्यस छनोटको सबै समूहमध्ये सर्वाधिक गोल गर्ने खेलाडी रहेकी छन् । भारतमा छँदा उनले ६० गोल गरेकी थिइन् । फ्रान्समा भने उनले अभान्ट ग्वेनग्याम्पबाट दुई सिजन खेलेकी थिइन् । नयाँ क्लबलाई आफ्नो गन्तव्य बनाएको संकेत गर्दै साम्बाले ग्वेनग्याम्पबाट भावपूर्ण बिदाइ पनि लिएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पछिल्लो दुई वर्षको अदभुत यात्राका लागि धेरै धन्यवाद । यस क्रममा गरेको प्रगतिका लागि मलाई सधैं गर्व रहनेछ । मेरो करियरमा यसको धेरै अर्थ रहनेछ । नयाँ सुरुवातका लागि भने अब हामी अलग हुने समय आएको छ । क्लब समर्थकले दिएको मायाप्रति म सधैं आभार रहनेछु । म जहाँ रहे पनि मेरो समर्थन क्लबप्रति रहनेछ ।’
उनी सम्मिलित ग्वेनग्याम्पले पहिलो सिजन १० औं स्थानमा रहेर रेलिगेसन बचाएको थियो । पछिल्लो सिजन भने यो क्लब भाग्यमानी रहेन र फ्रान्सेली महिला लिगको दोस्रो डिभिजनमा झरेको थियो । त्यस सिजन उनले ६ गोल गरिन् । त्यसमध्ये पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध गरेका दुई गोलले उनी अन्तर्राष्ट्रिय मिडियामा छाएकी थिइन् । अब अस्ट्रेलियामा सेप्टेम्बरतिर नयाँ सिजन सुरु हुनेछ । त्यसकै तयारीमा सावित्रा छिट्टै अस्ट्रेलिया जानेछिन् ।