
स्याङ्जा — कालिगण्डकी गाउँपालिका अन्तर्गत मिर्मी बजार क्षेत्रमा पछिल्लो समय चोरी तथा तोडफोडका घटनाहरू लगातार बढिरहेका छन्। नववर्ष २०८२ को पहिलो दिनको रातमै भएको श्रृंखलाबद्ध घटनाले मिर्मी क्षेत्र फेरि असुरक्षित बन्दै गएको स्पष्ट देखिएको छ।
गएराति मिर्मी बहुमुखी क्याम्पसको कार्यालय र कम्प्युटर ल्याबमा अज्ञात समूहले तोडफोड गरेको हो। यस्तै, GEN-Z स्केटिङमा पनि फ्रिजबाट विभिन्न पेयपदार्थ तथा स्केटिङ जुत्ताहरू चोरी भएका छन्। पाँच वटा मोटरसाइकल र स्कुटरहरू घरभन्दा टाढा लगेर तोडफोड र चोरीको प्रयास भएको पुष्टि प्रहरीले गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न भएको आशंकामा तीनजनालाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको छ। तर, यस्ता घटनाहरू वर्षेनि दोहोरिइरहेका हुँदा स्थायी समाधानको माग बढ्दो छ। स्थानीयवासीहरू विगतमा भएका घटनामा दोषी पहिचान र कारबाही नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
मिर्मी अहिले तीव्र विकासको चरणमा छ, जसका कारण मानिसहरूको बसाइँसराइ र आवतजावत समेत तीव्र छ। यति ठूलो आवागमन भएको क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था नगर्नु स्थानीय सरकार र प्रहरी प्रशासनको गम्भीर कमजोरीका रूपमा देखिएको छ।
स्थानीय सरकार र सुरक्षासम्बन्धी निकायहरूले विगतका घटनाहरूको निष्पक्ष छानबिन गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन सक्ने हो भने मात्रै मिर्मीबासीहरूले वास्तविक सुरक्षा अनुभूति गर्न सक्नेछन्। यसका साथै, क्षेत्रको विकाससँगै शान्ति, सुरक्षा र सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता झनै बढेको छ।