काठमाडौं, १२ चैत्र – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ। नागरिक तहदेखि राजनीतिक वृत्तसम्म सरकारको यो कदमको कडा आलोचना हुँदैछ। सामाजिक सञ्जालमा #JusticeForKulman अभियान तीव्र बनेको छ भने आम जनताले सरकारको निर्णयको विरुद्धमा सडकमा उत्रनुपर्ने आवाज उठाइरहेका छन्।

सरकारको निर्णयको आलोचना

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाउने निर्णय गर्दै उनको स्थानमा हितेन्द्रदेव शाक्य लाई नियुक्त गरेको थियो। सरकारले घिसिङलाई किन हटायो भन्ने स्पष्ट कारण नदिँदा यो निर्णयलाई राजनीतिक पूर्वाग्रहसहितको कदम मानिएको छ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ले सरकारको निर्णयप्रति आक्रोश व्यक्त गर्दै भने, “देश र जनताको हितविरुद्ध गरिएको यो दुरासयपूर्ण, स्वेच्छाचारी र निरंकुश निर्णयको जति निन्दा गरे पनि कम हुन्छ। यो कदमले सुशासनको धज्जी उडाएको छ र देशलाई थप संकटमा धकेल्दैछ।”

यसैगरी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला ऊर्जा विज्ञ कुलमान घिसिङको नेतृत्वमा विद्युत् क्षेत्रमा भएको क्रान्तिलाई सरकारले कुल्चन खोजेको छ। यो सरकारको आत्मघाती निर्णय हो।”

नागरिक तहमा असन्तोष
कुलमान घिसिङलाई हटाउने निर्णयसँगै नागरिक समाज, उद्योगी, व्यवसायी, युवा तथा आम जनता आक्रोशित बनेका छन्। सामाजिक सञ्जालमा हजारौँ नागरिकहरूले सरकारको कदमविरुद्ध आवाज उठाइरहेका छन्। सामाजिक अभियन्ताहरूले विभिन्न ठाउँमा विरोध कार्यक्रमको तयारी गरिरहेका छन्।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कर्मचारीहरू समेत सरकारको यो निर्णयप्रति असन्तुष्ट देखिएका छन्। एक पूर्व अधिकारीले भने, “कुलमान घिसिङलाई हटाएर सरकारले प्राधिकरणलाई फेरि कमजोर बनाउने संकेत दिएको छ। यदि यो निर्णय सच्याइएन भने लोडसेडिङ फर्कने सम्भावना बलियो बन्दै जानेछ।”

के नेपाल फेरि लोडसेडिङमा फर्कन्छ?
कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले ऐतिहासिक परिवर्तन गरेको थियो। लोडसेडिङ हटाउनुका साथै ऊर्जा व्यापारमा आत्मनिर्भर बन्ने योजनाहरू अघि बढाइएको थियो। अब घिसिङलाई हटाइएसँगै देश फेरि उर्जा संकटमा फर्कने आशंका गरिएको छ।

के सरकारले आफ्नो निर्णय सच्याउनेछ? कि कुलमान घिसिङको बर्खास्तीसँगै नेपाल फेरि लोडसेडिङतर्फ फर्कनेछ?
अबको केही दिनमा सरकारको रवैया र जनदबाबको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट हुनेछ।

 

#rastradaily

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार