रामचन्द्र नेपाल

रामप्रसाद गौतमको उमेर ६८ वर्ष पुगेको छ ।उहाँको घर पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं ६ प्याकुलक भन्ने ठाउँमा पर्दछ । रामप्रसाद गौतमका बुवा घनश्याम गौतमले चारबटा विवाह गर्नुभएको थियो चारजना आमाहरुबाट आठ जना सन्तानको जन्म भएको थियो । माईली श्रीमतीबाट एक छोरी र एक छोराको जन्म भएको थियो। उहाँ माइलीको छोरा हुनुहुन्छ

उहाँको बुबा घनश्याम गौतमलाई घोडे गोतामे भनेर त्यो बेलामा पाल्पामा मात्र होइन मुस्ताङ जिल्लामा समेत उहाँ चिन्दथे । पाल्पामा धेरै घोडा पाल्नेहरु मध्येमा उहाँ पहिलोमा पर्नुहुन्थ्यो । उहाँको घरमा डेढ सयसम्म घोडाहरु थिए ।
पाल्पामा जापानिज समाजसेवी काजुमासा काकिमीलाई ओके बाजे भनेर चिनिए जस्तै रामप्रसादलाई पनि अहिले रामपुर र आसपासको क्षेत्रमा घोडे बा भनेर चिन्दछन । रामपुर र त्यस क्षेत्रमा कसैले पनि घोडा पालेका छैनन् । उहाँको मात्रै घोडा भएको कारणले पनि उहाँलाई घोडे बा भनेर चिन्ने गरेका हुन् ।
रामप्रसादले त्यति धेरै पढनु भएको छैन । गाउँकै सानीअमराईमा रहेको दरैठाँटी माध्यमिक विद्यालयबाट पाचँ कक्षासम्म पढनु भएको हो । घरमा घोडाहरु भएको कारण पढाई भन्दा पनि घोडा चढ्नेमा उहाँको ध्यान गएको थियो । त्यसै कारण उहाँले पढनु भएन । बुबाले पढाउनको लागि निकै कोसिस गर्नुभयो तर पनि उहाँको ध्यान पढाईमा गएन ।
कितावी ज्ञान नभएपनि ब्यवहारिक ज्ञानले रामप्रसाद गौतम निकै खारिनु भएको छ । आफ्नो घरमा पहिला डेढ सयसम्म घोडा भएको र अहिले नभएको अवस्थामा आफ्नो घरको इतिहास र पहिचान कायम गर्नको लागि पनि घोडा पाल्नु पर्ने उहाँको ठम्याई छ । त्यस बाहेक घोडाको माध्यमबाट स्थानीय स्तरमा पर्यटनको विकास गर्न सकिन्छ भन्नेमा उहाँ लाग्नु भएको छ ।
रामप्रसाद गौतमको बुबाले घोडाको कारोवार गर्ने मात्र नभएर बुटवल देखि घोडामा सामान ल्याएर रामपुर आसपासको क्षेत्रमा विक्री वितरण गर्ने काम समेत गर्नुहुन्थ्यो । सानोमा बुबासँगै सामान लिन बुटवल जानुहुन्थ्यो । चौध वर्षको उमेर हुँदा आफै एक्लै घोडा लिएर सामान लिन बुटबल पुगेको उहाँ अहिले पनि संझनु हुन्छ ।
पन्ध्र वर्षको उमेर हुँदा उहाँ साथीभाइको लहैलहमा लागेर भारत पुग्नुभयो। विभिन्न ठाउँमा गरेर करिव ३०–३२ वर्ष भारतमै आईजाई गरेर विताउनुभयो । पछिल्लो समयमा मुम्वईमा हिरो हिरोनीहरुको घरमा सेक्युरिटी काम गर्न थालेपछि मुम्वईमा मात्रै १८ वर्ष विताउनुभयो ।
भारतका नाम चलेका कलाकारहरु गोविन्दा,अजय देवगन,अक्षय कुमार सन्जय दत्त,चुही चावला, श्रीदेवी,अमरिस पुरी, लगायतका थुप्रै कलाकारहरु बस्ने अपार्टमेण्टहरुमा उहाँले सेक्युरिटी गार्ड भएर काम गर्नुभयो उहाँको कामप्रतिको इमान्दारिताले गर्दा उहाँलाई कलाकारहरुले बेलाबेलामा वक्सिस समेत दिने गर्दथे । त्यहाँ वस्दा अमरिस पुरीले भन्ने गरेको डाईलग उहाँ अहिले पनि संझनु हुन्छ (सिकने हो तो आओ सिकानेका जरुरत नही) ।
भारत पछाडि उहाँ नोकरीको लागि साउदी अरवसम्म पुग्नुभयो । त्यहाँ उहाँले सेक्युरिटिकै काम पाउनु भयो । भारतमा हुँदा अजय देवगनसँगै खिचेको फोटो साउदीको मालिकले देखेछ । साउदीको मालिकले मेरो भान्जाकोमा पनि तिमीले काम गरेको हो रैछ तिमी अव मेरोमा सेक्युरिटी गर्नुपर्छ भनेर उहाँलाई सेक्यरिटीमा राखेको थियो । साउदीमा उहाँले तीन वर्ष विताउनुभयो ।
सवारीसाधनहरु ठाउँ ठाउँमा पुग्न थालेपछि घरमा बुबाले पालेका घोडाहरु पनि विस्तारै घट्न थाले । यसैविचमा बुबाले सवै छोराहरुलाई छुट्याईदिनुभयो । घरमा श्रीमती पनि विरामी भएपछि उहाँको विदेश जानेक्रम रोकियो । करीव १२ वर्ष देखि उहाँ अहिले घरमै आफ्नो कुटोकोदालो गर्दै घोडाको स्याहार सुसार गरेर वसिरहनु भएको छ ।
रामप्रसादका तीन भाइ छोराहरु र एक छोरी छन।छोराछोरी सवैको विहे भैसक्यो । छोरा र छोरीपट्टि गरेर आठ जना नातिनातिना भएका छन । उहाँका तीनै भाइ छोराहरु रोजगारीको लागि मलेसिया पुगेका छन यतिवेला दुइ जना छोराहरु छुट्टिमा घर आएका छन । छोरीपट्टिका दुइ जना नातिहरु समेत मलेसियामा नोकरी गरिरहेका छन
रामप्रसाद सानो हुँदा घरभरि घोडा भएको र आफू घोडामा चढेर गाउँ डुलेकोे आखाँ अगाडि झलझली सधै नाँचिरहन्थ्यो । उहाँलाई घोडा पाल्ने रहर निकै थियो । यसैक्रममा गएको वर्ष घर परिवार कसैसँग पनि सरसल्लाह नगरी उहाँ घोडा किन्नकोे लागि मनाङ जिल्लामा पुग्नुभयो । मनाङ जिल्लामा पुगेर धेरै ठाउँमा पुग्नुभयो र घोडा खोज्नुभयो । उहाँलाई त्यो वेलाका सांसद टेकबहादुर गुरुङले चढ्ेन गरेको घोडा पर्यो । मनपरेपछि पैसाको मोलतोल भयो । तीन लाख रुपैयाँमा छिनोफानो भयो र किनेर ल्याउनुभयो
रामप्रसादले घोडा किनेर ल्याएको वेलामा रामपुरमा महोत्सव चलेको थियो । तीन दिनसम्म घोडालाई महोत्सवमा लैजानु भयो। त्यो बेलामा घोडामा चढ्नेको भिड नै लागेको थियो । त्यो महोत्सवको तीन दिनमै करीव पैतीस हजार रुपैयाँ घोडा चढाएर कमाउनुभयो । पाल्पाको सराईमा लागेको महोत्सवमा पनि उहाँ घोडा लिएर आउनु भयो। त्यहाँ पनि उहाँलाई राम्रै कमाई भयो। यतिवेला रामपुरका पार्क तथा अन्य स्थानमा उहाँ घोडा सहित भेटिनुहुन्छ । कसैको विवाह ,पार्टीहरुमा समेत घोडाको माग गरेमा लिएर जानुहुन्छ ।
रामप्रसादले घोडाको निकै स्याँहार सुसार गर्नुहुन्छ । घोडाले रुचाउने घाँस र दानापानीमा निकै ध्यान दिनुहुन्छ । घोडाको आनावानी कस्तो हुन्छ भन्ने समेत उहाँलाई राम्रो सँग ज्ञान छ । घोडालाई करीव पाँच–छ सय रुपैयाँको दैनिक दानापानीमा खर्च हुने उहाँले बताउनुभयो । घोडाले दैनिक रुपमा आफ्नो खर्च कटाएर घरखर्च चलाउनलाई पैसा पुरयाउने गरेको र आफूले किन्दा लागेको खर्च उठाई सकेको समेत उहाँले बताउनुभयो
निकै हँसिलो,इमान्दार कसैसँग पनि नरिसाउने उहाँको स्वभाव भएको कारण उहाँ सबैको प्रिय हुनुहुन्छ । आफ्नो बाउ बाजेको इतिहास कायम राख्नको लागि मात्रै नभएर पर्यटनको लागि समेत केही गर्न सकिन्छ भनेर घोडा पाल्नु भएका रामप्रसादको मेहनत हिम्मत र साहसलाई मान्नु पर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर