रामचन्द्र नेपाल

लेखबहादुर वि.क.को घर पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ११ जुकीया भन्ने ठाउँमा पर्दछ ।

आफ्नो जन्मथलोमा लेखबहादुरले पाल्पाली ब्राण्डेड करुवा उद्योग नाम राखेर करुवा उद्योग सन्चालनमा ल्याउनु भएको छ ।

यो उद्योग खुलेको तीन वर्ष मात्र पुगेको छ ।

तीन वर्षमा नै उद्योगले कमाएको ख्याती भने निकै धेरै छ ।
लेखबहादुरको उमेर ४० वर्ष मात्र पुगेको छ ।

परिवारमा एक छोरा एक छोरी र श्रीमती हुनुहुन्छ ।

बुबा आमाले घरको काम मात्र गर्ने भएको कारण छोराछोरीहरुलाई पढाउनु पर्छ भन्ने त्यति ज्ञान थिएन ।

जसको कारण उहाँले चार कक्षा भन्दा धेरै पढ्न पाउनु भएन ।

आफूले लेखपढ नगरेको भएपनि छोराछोरीहरुलाई भने उनीहरुको इच्छा अनुसार पढाईदिने उहाँको धोको छ ।
लेखबहादुरको उमेर चौध वर्षको हुँदादेखि तानसेनको टक्सारमा रहेको करुवा उद्योगमा काम गर्नुभएको हो ।

त्यहाँ उहाँले करीव २० वर्ष जति कालिगढ भएर काम गर्नुभयो ।

अहिले भने आफैले उद्योग खोलेर चलाउन थाल्नुभएको छ ।
पाल्पा करुवा र ढाकाको लागि निकै प्रसिद्धि कमाएको जिल्ला हो ।

त्यसैले पनि पाल्पामा केही गर्न सकिन्छ भन्ने लागेर करुवा उद्योग खोल्नुभएको हामीसँगको कुराकानीमा बताउनुभयो ।

उहाँले यतिवेला अर्डर अनुसारको करुवा बनाउने गर्नुहुन्छ ।

सबैभन्दा सानोलाई तीन हजारदेखि ठुलोमा १५ हजार सम्मको करुवा आफूले बनाएर बेचिरहनुु भएको छ ।

यतिवेला पाल्पाली करुवा संकटमा पर्ने गरेको उहाँको पनि ठम्याई छ ।

उहाँले हामीसँगको कुराकानीमा भन्नुभयो नयाँ पुस्ताले यो काम गर्नलाई रुचि लिंदैनन् फेरि सरकारले पनि उद्योगलाई बँचाउनु पर्दछ भनेर कुनै योजनाहरु ल्याएको छैन ।

त्यसवाहेक पाल्पाली करुवा भनेर अन्य ठाउँमा मेशिनबाट बनाएका करुवाहरुले पनि पाल्पाली करुवा भनेर बेच्ने गरेको कारण समस्या भएको उहाँले बताउनुभयो ।
लेखबहादुरलाई करुवा बनाउनको लागि कुनै समस्या छैन ।

त्यति लामो समयसम्म कालिगढ भएर बसेको कारण करुवा बनाउन निपूर्ण नै हुनुहुन्छ तर करुवा उद्योग सन्चालनमा ल्याउनको लागि भने आर्थिक र बजारको समस्या परेको उहाँले बताउनुभयो ।

करुवा बनाउनको लागि प्रविधि एउटै हो तर करुवा बन्ने कासँ निकै महंगो पर्दछ जसको कारण सोचेजति उहाँले उत्पादन गर्न सकिरहनु भएको छैन ।
लेखबहादुरले आफुले जानेको सीप अरुलाई हन्तान्तरण गर्न चहानुहुन्छ तर सीप सिक्नको लागि कोही पनि तयार छैनन ।

आफूले २० वर्ष लगाएर सिकेको सिप अरुलाई पनि सिकाउन पाए आफ्नै ठाउँमा रोजगारीको सृजना समेत गर्न सकिने उहाँको ठम्याई छ । आफ्नै ठाउँमा केही गर्नुपर्दछ भनेर लागिरहनु भएका लेखबहादुरलाई करुवा उद्योग चलाउनको लागि सहयोगको खाँचो देखिएको छ ।

यदि कोही सहयोगी बन्ने हो सधै आफ्नो ढोका खुल्ला रहेको उहाँले बताउनुभयो ।

आफ्नै ठाउँमा केही गरौं भनेर कस्सिनुभएका लेखबहादुरको जीवनबाट हामीले पनि धेरै कुरा सिक्न सकिन्छ ।

दक्षिण एसियाकै पहिलो विकास पत्रिका गाउँले देउराली साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर